लुम्बिनी र प्रदेश- १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ए तर्फको आफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन् ।
प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले बागमतीलाई रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीले हुस्सु र शीतलहरका कारण ६ ओभरमा खेलाइएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनायो । कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाए ।
लुम्बिनीका लागि सुष्मिता भुसालले २ र नेरी थापाले एक विकेट लिए । कर्णाली यसअघि भएको खेलमा प्रदेश १ बाट ६ रनमा अलआउट भएको थियो ।
कर्णालीले दिएको १८ रनको लक्ष्य लुम्बिनीले बिनाविकेट क्षतिमा पूरा गर्यो । ३ दशमलव १ ओभरमा कुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाइन् । लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाइन् । खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुष्मिता भुसाल प्लयर अफ द म्याच भइन् ।
प्रदेश-१ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । दोस्रो दिनको दोस्रो खेलमा बागमतीलाई ५५ रनले हराउँदै प्रदेश- १ सेमिफाइनल पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश- १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो । प्रदेश- १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ बलको सामना गरेकी उनले ५१ रन बनाइन् । त्यस्तै, स्मृति कटुवालले २० र सबनम राईले १५ रन बनाइन् । बागमती प्रदेशका लागि अष्मिना कर्माचार्य र खुशी डंगोलले २/२ विकेट लिए ।
११५ रनको विजयलक्ष्य पछ्याएको बागमती २० ओभरमा८ विकेट गुमाउँदै ५९ रनमा समेटियो । बागमतीका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्कासहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् । कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बागमतीका ५ जना खेलाडी रन आउट भए । कप्तान रुविना क्षेत्री, ज्योति डनुवार र अलिशा खाडियाले १/१ विकेट लिए । खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश १ की अप्सरी वेगम प्लेयर अफ द म्याच भइन् ।
प्रतियोगिताको समूह ए मा रहेका बागमती र कर्णाली प्रतियोगिताबाट बाहिरिएका छन् । दुबै प्रदेश समूह चरणका खेलेका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । कर्णाली पहिलो खेलमा प्रदेश-१ सँग १६० रनले पराजित भयो भने दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग १० विकेटले हार्यो । बागमती पनि लुम्बिनीसँग ७ विकेट र प्रदेश- १ सँग ५५ रनले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
प्रतियोगिताको तेस्रो दिन अर्थात भोलि दुईवटा खेल हुनेछन् । पहिलो खेलमा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एफिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश- २ खेल्ने छन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।