केपी ओलीलाई लक्षित गर्दै माधव नेपालले भने - जो चोर उसकै ठूलो स्वर
संसद अवरोध सर्वोच्चको फैसलाविपरीत रहेको दाबी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसलाविपरीत संसद अवरुद्ध पारिरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्विप नलाग्ने सर्वोच्च अदालतको फैसलाविपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाए । 

आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणासभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई मान्ने पक्षमा नरहेको दाबीसमेत गरे । सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको उनको तर्क थियो । 

अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको हवाला दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्याए । उनले भने, ‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन । संविधानको प्रावधानलाई स्वीकार गर्दैन । कानुनी शासनको मान्यतालाई अंगिकार गर्दैन । अदालतको आदेशलाई स्वीकार गर्दैन । अदालतमा विचाराधीन मुद्दामाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइँदैन संसदमा । ती विषय संसदमा ल्याउन पाइँदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ,’ एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले भने, ‘त्यही ठुल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर ।’

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताए । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबी गर्दै नेपालले विरोधीहरुमा छटपटाहट आएको बताए । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १८:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया