जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरेका छन् ।
सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीले आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत गत साउन महिनादेखि लागू हुनेगरी बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । सरकारको उक्त निर्णयअनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनीयाँ गाउँपालिकालगायत अधिकांश स्थानीय तहले तलब वितरण गरिसकेका छन् ।
तर, जनकपुरधाम उपमहानगरपालिकाले भने तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलनमा जाने विकल्प नरहेको बालविकास शिक्षक संघर्ष समितिकी जिल्ला सह–संयोजक संजु यादवले बताइन् ।
बालविकासका शिक्षक खानसम्म नपुग्ने तलब मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनु पर्ने आफूहरूको माग रहेको उनले बताइन् ।
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको संयूक्त संघर्ष समितिका सह–संयोजक यादवको अध्यक्षतामा बसेको बैठकमा जनकपुरधाम उपमहानगरपालिकामा बुझाइएको ज्ञापनपत्र अनुसार पुस ६ गतेसम्म बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलब भुक्तानी नभए ७ गतेदेखि पेनडाउन गरी बिहान १० बजेदेखि उपमहानगरको कार्यालय अगाडि धर्ना दिने चेतावनीसमेत दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका मातहतका बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब निकासा सम्बन्ध सम्बोधन गराउन शिक्षक संघसंगठनले सकारात्मक भूमिका निर्वाह नगरे आगामी दिनमा आफूहरूले पनि असहयोग गर्ने सह–संयोजक यादवले बताइन् ।
यादवले लेखापालको मासिक तलव १८ हजार ५०० र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरिन् ।
जनकपुरधाम उपमहानगरपालिकाभित्रका ४९ वटा सामुदायिक विद्यालयमा करिब दुई सयको हाराहारीमा बालविकासका शिक्षक कार्यरत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।