अन्तरजातीय विवाह गरेका चन्द्रे कामी एक सातादेखि बेपत्ता, युवती भने माइतीमै फेला

हुम्लाका एक युवक एक सातादेखि बेपत्ता भएका छन् । अन्तरजातीय विवाह गरेका जिल्लाको सर्केगाड गाउँपालिका-१ नात्ता गाउँका १९ वर्षीय चन्द्रे कामी मंसिर २९ गते रातिदेखि बेपत्ता भएका हुन् । उनले सोरु गाउँपालिका-४ लिपुकी १९ वर्षीया रमिला मल्लसँग प्रेम विवाह गरेका थिए । 

गत मंसिर ५ गते दुवैजनाले भागेर विवाह गरेका हुन् । विवाह गरेपछि केही दिन घरबाहिर बसेका उनीहरू मंसिर २४ गते घर फर्किएका थिए । घरमा राति सुतिरहेको बेला १५-२० जनाको समूहले रमिला र चन्द्रे दुवै जनालाई उठाएर लगेका थिए । दोस्रो दिन रमिला माइतीघरमै फेला परिन् । यता चन्द्रे भने अझै फेला पर्न सकेका छैनन् । 

भागेर विवाह गरेपछि रमिलाले आफ्नो आमाबुबालाई जानकारी गराएकी थिइन् । माइती पक्षले पनि एकपटक घर आऊ हामी केही गर्दैनौं, बिहे गराइदिन्छौं भनेका थिए । माइती पक्षले पनि विवाह गराइदिन तयार भएपछि दुवैजना घर फर्किएका थिए । 

माइती पक्षले तल्लो जातको केटा भन्दै राति नै दुवै जनालाई उठाएर लगेको र चन्द्रेलाई बेपत्ता पारेको उनको परिवारले जनाएको छ । पछिल्लो केही समयदेखि दुवैजना एकाअर्काको प्रेममा परेका थिए । रमिलाकै करकापमा परेर चन्द्रेले उनलाई भगाएका थिए । आफ्नो पेटमा दुई महिनाको बच्चा बसेको र भगाएर बिहे गर भनेपछि चन्द्रे उनलाई आफ्नो घरमा ल्याउन तयार भएका थिए ।
 
सर्केगाड गाउँपालिका-१ का वडाअध्यक्ष गोकुल बुढाले मध्यराति आएका केटी पक्षको समूहले गाउँलेका घरका ढाेका बाहिरबाट बन्द गरी केटा र केटी दुवैलाई लगेर गएको बताए । केटी पक्षले चन्द्रेको हात पछाडि बाँधेर नांगै कुट्दै लगेको उनको भनाइ छ । 

गाउँलेहरू ढोका खोलेर बाहिर आउँदासम्म उनीहरू धेरै टाढा पुगेको देखेको वडाअध्यक्ष बुढाले बताए । सँगै लगेको केटी भने माइतीमै फेला परेको तर केटा फेला नपरेकाले कतै हत्या गरेर फालेको उनको आशंका छ । 

घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्मा आफैँ फिल्डमा खटिएका छन् । त्यस्तै स्थानीय प्रहरीलाई समेत परिचालन गरेर चन्द्रेको खोजी भइरहेको छ । तर, अहिलेसम्म फेला पर्न नसकेको डिएसपी शर्माले बताए । केटीलाई सोधपुछपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा छोडिएको र आवश्यक परेको बेला सोधपुछ गर्न सकिने डिएसपी शर्माकाे भनाइ छ ।



शर्माका अनुसार यातायातको सुविधा र सञ्चारको सुविधा नभएकाले खोजविन गर्न समस्या भइरहेको छ । चन्द्रेकाे खोजीका लागि मुगुबाट समेत प्रहरी परिचालन गरिएको छ । कुनै अप्रिय घटना नहोस् भने दुवै जिल्लाका प्रहरी, स्थानीय लगायतको सहयोगका खोजीकार्य जारी रहेको डिएसपी शर्माले जानकारी दिए ।

चन्द्रेको गाउँबाट रमिलाको घर जान तीन-चार घण्टाको समय लाग्छ । मुगुस्थित एक होटलमा काम गर्दा चन्द्रेको भेट तीन वर्षअघि रमिलासँग भएको थियो । त्यही बेलादेखि दुवै जना एक अर्काको प्रेममा रहेको चन्द्रेका दाई गगन लोहारले बताए । 



मंसिर लागेपछि सहमतिमा विवाह गर्न केटी पक्षबाट नमान्ने भएपछि दुवैजना भागेर विवाह गर्न तयार भए । विवाह गरेपछि वडाअध्यक्ष बुढालाई फोन गरेर विवाहदर्ता गरिदिन आग्रह गरे । वडाअध्यक्षले विवाहदर्ता नहुने जवाफ दिए । कम उमेरमै विवाहदर्ता नहुने भएपछि उनीहरू दुवै जना केही दिन घरबाहिर बसेका थिए । 

यसअघि रुकुमपश्चिमका नवराज विकको पनि हत्या भएको थियो । मल्ल थरकी प्रेमिकालाई भगाएर लिन जाँदा उनीसहित ६ जनाको हत्या गरिएको थियो । आफूले भगाउँदा पनि त्यस्तै अवस्था आउन सक्ने डरले भागेर घरभन्दा बाहिर बसिरहेका थिए । केही दिन अर्कै गाउँमा बसेपछि मंसिर २४ गते आफ्नो घर फर्किएका थिए ।

चन्द्रे गाउँकै सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै आएका थिए । उनीहरू दुवैजनालाई लगेको दोस्रो दिन घरभन्दा केही पर चन्द्रेको गन्जी फेला परेको वडाअध्यक्ष बुढाले बताए । 

उनीहरू दुवैजनालाई उठाएर लैजाने समूहको पहिचान खुलिसकेको तर, सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ । 

‘सबै जनाको पहिचान खुलिसकेको छ । तर, उनीहरू सम्पर्कमा छैनन् । खोजीकार्य भइरहेको छ’, डिएसपी शर्माले भने । 

चन्द्रेको खोजीका लागि मुगु प्रहरी, हुम्ला प्रहरीसँगै जाजरकोट प्रहरीसँग समेत समन्वय भइरहेको डिएसपी शर्माले बताए । 

बेपत्ता भएका केटालाई विभिन्न कोणबाट अनुसन्धान तथा खोजतलासी गरिरहेको डिएसपी शर्माको भनाइ छ । 

‘डरले कतै आफन्तकहाँ लुकेर बसेका छन् कि त्यतातिर पनि ध्यान दिएका छौं । अथवा राति भगाउने केटाहरूले कतै लुकाएर राखेका छन् कि भनेर पनि अनुसन्धान थालेका छौं’, डिएसपी शर्माले भने । 

उनीहरूलाई उठाएर लैजाने समूह फेला परेको खण्डमा थप जानकारी पाउन सकिने उनको भनाइ छ । तर, अहिलेसम्म ने केटा फेला परेका छन् न त केटालाई वेपत्ता पार्ने समूह नै फेला पर्न सकेको छ । 

रमिला घरमै भेटिए पनि उनका बुबा भने गाउँमै छैनन् । सम्पर्कविहीन रहेको रमिलाका बुबा वीरबहादुर मल्लको समेत खोजी कार्य भइरहेको छ । मुगुका प्रहरी प्रमुख डिएसपी सुवास हमालले चन्द्रेको खोजीका लागि हुम्ला र मुगुबाट प्रहरी टोली परिचालन गरिएको बताए । 

हुम्लाका प्रहरी प्रमुख डिएसपी शर्मा आफैँ लिब्रुतिर छन् । त्यस्तै मुगुबाट सईको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यस्तै हुम्लाबाट असइको नेतृत्वमा पनि टोली चन्द्रेको खोजीमा लागेको हुम्ला प्रहरी प्रमुख शर्माकाे भनाइ छ ।

उक्त घटनाको विभिन्‍न संघ संगठन तथा अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । दोषीलाई उम्किन नदिन खबरदारीसमेत गर्दै आएका छन् । 

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले चन्द्रेको खोजीकार्य तीव्र पार्न आग्रह गरेको छ । उक्त घटना रुकुममा घटेको नवराज विकको जस्तै अप्रिय अवस्थातिर पुगेको भन्दै खेद प्रकट गरेको छ।  

यस्तै विभिन्न राजनीति दलका भातृ संगठनहरूले समेत उक्त घटनाको भर्त्सना गर्दै छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् 

  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १२:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया