राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : सुरेन्द्र पाण्डे

नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । 

सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रूपले देशको स्थिति गम्भीर अवस्थामा पुगिसकेको बताएका हुन् ।

देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट नखोजिए गम्भीर संकट पैदा हुने भन्दै वर्तमान संकटको समाधान निर्वाचनबाटै हुने उनले बताए ।

‘कुनै पनि क्षण देशले निर्वाचनतर्फ जान खोजेको हो कि भन्ने देख्छु’, उनले भने, ‘अर्थतन्त्रमा केही गम्भीर नकारात्मक लक्षणहरू पनि देखापरेका छन् ।’ 

१४ महिनालाई धान्ने भनिएको वैदेशिक मुद्राको सञ्चिति सात महिनामै अपुग देखिएको उनकाे भनाइ छ ।

आयात तीव्र रूपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उनले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको उनले बताए । 



‘पर्याप्त वैदेशिक मुद्राको सञ्चिति भएन भने अनेक सर्तमा ऋण लिनुपर्ने अवस्था आउँछ । त्यसका लागि धेरै मूल्य चुकाउनुपर्छ’, उनले भने ।

सरकारले भर्खर मात्रै ४० अर्ब ऋण लिन खोजेको भन्दै त्यसले मात्रै नपुग्ने उनले बताए । ‘पाँच महिनामा पुँजीगत खर्च ६ प्रतिशत मात्रै छ । सरकारले राजस्व लिइरहेको छ । तर, खर्च गर्न सकेको छैन, जसका कारण बैंकहरूमा तरलताको अभाव भएको छ’, उनले भने ।



‘एमसिसीको विषयमा गठबन्धनभित्रै विमति’

मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी)को विषयमा सत्तारूढ गठबन्धनभित्रै विमति रहेको पाण्डेले बताए । प्रधानमन्त्री र अन्य दलहरूबीच नै गम्भीर असहमति देखिन्छ ।  ‘यसले नेपालको राजनीतिक संकटलाई थप गहिराउने हो कि भन्ने अवस्था देखा पर्दैछ’, उनले भने ।

एमसिसीको विषयमा सत्तारूढ दलभित्रै असमझदारी रहेकाले सत्तारूढ दलले धारणा बनाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनकाे भनाइ छ ।

वर्तमान अवस्थाको समाधान बुद्धिमता ढंगले गर्नुपर्ने भए पनि सरकार त्यसतर्फ नलागेको उनको आराेप छ । 

संकट समाधानका लागि एमालेले सही ढंगले सहयोग गर्ने उनले बताए ।

  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १४:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया