पुस ५ लाई माधव नेपालनिकट प्रेस संगठनले कालो दिनका रुपमा मनायो

नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकारहरुको संस्था प्रेस संगठनले पुस ५ गते (आज)लाई कालो दिनका रुपमा मनाएको छ । अघिल्लो वर्ष आजकै दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक संसद विघटन गरेका थिए । 

संसद विघटनपछि तत्कालीन नेकपा व्यावहारिक रुपमा विभाजन भएको थियो । यद्यपि, सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग गरिदिएपछि पुराना दुई पार्टी पूर्ववत् अवस्थामा फर्केका थिए । 

सोमबार प्रेस संगठन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको दाबी गरे । राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उनले बताए । 

वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको दाबी गर्दै उनले भने, ‘पाँच दलको गठबन्धनले देशमा अहिले मुलुकको राजनीतिलाई एउटा ट्रयाकमा ल्याएको छ । जसरी राज्य संयन्त्रलाई कब्जा गरेर देशलाई अधिनायकवादको बाटोतर्फ उन्मुख गराउने ओलीको जुन प्रयत्न थियो, त्यो प्रयत्न विफल भएको छ ।’ 

शेरबहादुर देउवाको नेतृत्वमा अहिले विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र आर्थिक विकासको बाटोमा मुलुकलाई अग्रसर गराएको भन्दै उनले भने, ‘अबका दिनमा हामीले, हाम्रो पुस्ताले राजनीतिक पद्धतिका निमित्त संघर्ष गर्नु नपरोस् ।’



संविधानलाई समयानुकूल परिवर्तन गर्दै  देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्ब गर्न नहुने मन्त्री कार्कीको भनाइ छ । उनले देशलाई समृद्ध बनाउनका निम्ति सबैको इमानदार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिए । 



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १७:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया