प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम र एपिएफ विजयी

धनगढीमा जारी प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा घरेलु टोली सुदरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन् । 

समूह बीअन्तर्गत फाप्ला मैदानमा भएका खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपिएफले प्रदेश नम्बर २ लाई हराएको हो । 

सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट गुमाउँदै ३१ रन मात्र बनाउन सफल भयाे । 

सुदूरपश्चिम प्रदेशको बलिङसामु धर्मराएको गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । गण्डकीका लागि पेमलम्बु शेर्पाले बनाएको ६ रन नै सर्वाधिक हो । 

सुदूरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई-दुई विकेट लिए । कविता कुँवर र ईश्वरी विष्टले एक-एक विकेट लिए । 

३२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले एक विकेटकाे क्षतिमा लक्ष्य भेट्टायो । ३२ रनको लक्ष्य सुदूरपश्चिमले २.१ ओभरमा पूरा गरेको हो । सुदूरपश्चिमका लागि कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाइन् । 



खेलमा दुई विकेटसहित ८ रन बनाएकी सुदूरपश्चिमकी कविता जोशी प्लेयर अफ द म्याच भइन्।

सोमबार भएको पहिलो खेलमा विभागीय टीम एफिएफले प्रदेश नम्बर २ लाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ८ विकेटकाे क्षतिमा ९८ रन बनायो ।



खेलमा एपिएफका लागि ज्योति पाण्डेयले २४ रन, ईन्दु बर्माले २१ रन, रोमाथापाले १४ रन र ममत चौधरीले ११ रन बनाए । 

प्रदेश नम्बर २ का लागि विमला मगरले तीन विकेट लिइन् । त्यस्तै अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक-एक विकेट लिए । 

९९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ५० रन मात्रै बनाउन सक्यो । उसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदा ५० रन मात्रै बनाउन सक्यो ।

प्रदेश नम्बर २ का लागि मेलिना रायमाझीले २० रन बनाइन् । उनीबाहेक अन्य खेलाडीले दोहोरो रन अंक बटुल्न सकेनन् । 

एपिएफका लागि सुष्मा श्रेष्ठले दुई विकेट लिइन् । सोनु खड्का, रेखा रावल सीता राना मगर र करुणा भण्डारीले एक-एक विकेट लिइन् । खेलमा एपिएफकी सुष्मा श्रेष्ठ प्लेयर अफ द म्याच भइन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार समूह एका दुई खेल हुनेछन् । पहिलो खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश खेल्नेछन् । सेमीफाइनल पुगेका दुबै टोलीको खेलले समूह एको विजेता र उपविजेताको टुंगाे लगाउनेछ । 

मंगलबारकै अर्को खेलमा कर्णाली प्रदेश र बागमती प्रदेश खेल्नेछन् । प्रतियोगिताबाट बाहिरिएका दुबै टोली सान्त्वना जितका लागि खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भइहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।

  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १७:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया