कांग्रेस प्रदेश–२ अधिवेशन : आज मनोनयन दर्ता, भोलि चुनाव

नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशनअन्तर्गत आज मनोयन दर्तासहितको कार्यक्रम छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश–२ मा मंगलबारबाट हुने तालिका छ ।  


सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश–२ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहोर्‍याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा प्रदेश–२ मा भने बल्ल अधिवेशनको तयारी गरिएको हो ।
 

प्रदेश महाधिवेशनअन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम छ ।   

सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को मावि धोविनिया वा प्रावि धनकौलमा तथा ‘ख’ को मावि गोडैता अधिवेशन सम्पन्न भएको छ । प्रदेश क्षेत्रअन्तर्गत (क) मा अभिन्दन सहनीको सभापतित्वमा पदाधिकारीसहित प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । 

यसअघि भएको क्षेत्रीय अधिवेशनमा अमरेशकुमार सिंह पक्षको प्यानल नै हारेपछि यसपटक उनीहरूले उम्मेदवारी नै दिएनन् । ‘क’ मा श्यामकुमार कार्की, रामबाबु उप्रेती, कुबेरबहादुर कार्की, दीपेन्द्र कोइरीलगायत १७ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै, ‘ख’ प्रदेश अधिवेशनमा पनि अमरेश सिंह पक्षले उम्मेदवारी नदिएपछि अशोककुमार सिंह सभापति रहेको क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । हरेक प्रदेश क्षेत्र अधिवेशनबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधि तथा १ प्रदेश क्षेत्र सभापतिसहित १८ जनाका दरले प्रदेश महाधिवेशनमा मतदाता हुनेछन् भने सभापतिबाहेक अन्य प्रतिनिधिले उम्मेदवारसमेत बन्न पाउने छन् ।



प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ । त्यस्तै, प्रदेश महाधिवेशनमा यसअघि क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिले समेत मतदान गर्न पाउनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेदवारसमेत बन्न पाउनेछन् ।  



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ६:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया