नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताएका छन् ।
एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएको बताएका हुन् ।
वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको उनको भनाइ छ । ‘यो गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन । शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ । एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव । यी मान्छेहरूले शेरबहादुर देउवालाई अप्ठ्यारो बनाइरहेको अवस्था छ,’ राईले भने, ‘त्यतिकै पनि चुनाव आइसक्यो । स्थानीय चुनाव हुने बेला भइ नै सक्यो । प्रदेश र संघको चुनाव पनि धेरै बाँकी छैन । त्यसैले अवको निर्वाचनमा एमाले एक्लैले जित्न सक्छ, जित्नुपर्छ र समृद्धिको यात्रालाई अझ फराकिलो बनाउँदै लैजानुपर्छ ।’
सर्वोच्च अदालतले सेटिङमा परमादेशबाट बनाइदिएको केन्द्र सरकार र अध्यादेशबाट बनेको प्रदेश सरकारले अनुचित ढंगले निजी स्वार्थ पूरा गर्ने हिसाबले बजेट खर्च गरिरहेको उनले दाबी गरे ।
‘अहिले परमादेशबाट सर्वोच्च अदालतले सेटिङमा बनाइदिएको सरकार माथि छ । अध्यादेशले बनाएको सरकार प्रदेशमा छ । उसले न जनताका लागि राष्ट्रका लागि सोच्छ, न केही गर्छन्,’ उनले भने, ‘हामीले थालेका राम्रा कामहरूलाई भत्काउने, त्यसलाई रोक्ने र अनुचित ढंगले श्रोतहरूको बजेटको दुरुपयोग गर्ने, आफ्नो निजी स्वार्थ पूरा गर्ने हिसाबले खर्च गर्ने हिसाबले काम गरिरहेका छन् । त्यसको खबरदारी गर्ने जिम्मा हाम्रो छ ।’
राईले एमालेमाथि पटकपटक आक्रमण हुँदै आएको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।