लगातार तेस्रो जित निकाल्दै प्रदेश-१ प्रधानमन्त्री कपको सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश–१ ले लगातार तेस्रो जित निकालेको छ । उसले मंगलबारको खेलमा लुम्बिनी प्रदेशमाथि ६७ रनको जित हात पारेको हो ।

यो जितसँगै प्रदेश–१ समूह ‘ए’ बाट विजेता तथा पराजित लुम्बिनी उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका छन् ।

११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ४७ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि सरस्वती पुन र नीतु भण्डारीले सर्वाधिक ९/९ रनको योगदान दिए ।

लुम्बिनीलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले तीन, अलिशा खडियाले दुई र संगिता राईले एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो। यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । 

प्रदेश-१ का लागि अप्सरी बेगमले अविजित ४४ रनको योगदान दिइन् । ३७ बलको सामना गरेकी उनले एक चौका र एक छक्का प्रहार गरिन् । काजल श्रेष्ठले ४० र रुबिना क्षेत्रीले १५ रन बनाए ।

लुम्बिनीका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक विकेट हात पारे । यो नतिजासँगै ३ खेलमा शतप्रतिशत जित हात पारेको प्रदेश-१ ले ६ अंक जोड्दा पहिलो पराजय बेहोरेको लुम्बिनीले ४ अंक जोड्यो ।    





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १२:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया