नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन् ।
मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनको लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताएका हुन् ।
राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपाल बार एसोसिएसनले उहाँको बर्हिगमनको लागि १७ बुँदा विभिन्न दलहरूलाई पनि दिइसकेकाे छ । प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरूलाई हामीले दिइसकेका छौं । उहाँहरूले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ । मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्ने उहाँहरूको उद्देश्य हो भने त्यही अनुसार भन्नुपर्याे । होइन भने, न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनको लागि उहाँहरूले पहल गर्नुपर्दछ । नेपाल बार एसोसिएसनको, सम्पूर्ण कानुन व्यवसायीहरूको आह्वान हो ।’
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नांगिएको कुरा स्वीकार गरिसकेको दाबी पनि गरे ।
प्रधानन्यायाधीश नांगिदैमा न्यायपालिका नसप्रने र न्याय प्रशासन चल्न नसक्ने उनले बताए ।
‘उहाँ नांगिदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढंगबाट चल्न सक्छ ? के हामी यो चाहन्छौ ? उहाँ नांगिनुभएको छ भने घरमा गएर नांगिनुस् । न्यायपालिकालाई नांगिन नदिनुस् । तपाईंले राजीनामा गर्नुस् । बर्हिगमन हुनुस् भन्ने कुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौं’, उनले भने ।
केही दिनदेखि स्थगन भएको बार एसोसिएसनको आन्दोलन पुनः सुरु भएको छ । मंगलबार कानुन व्यवसायीहरूले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम जारी रहेको नेपाल बार एसोसिएसनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।