रवीन्द्र मिश्रले कारबाही गरेका मिलन पाण्डेले भने- मलाई कसैले कारबाही गर्न सक्दैन

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफूमाथि कसैले पनि कारबाही गर्न नसक्ने बताएका छन् । आज मात्रै अध्यक्ष रवीन्द्र मिश्रले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए । 

उक्त निर्णयप्रति आपत्ति जनाउँदै पाण्डेले अवैधरूपमा आफ्नो समूहको बैठक बोलाई आफूमाथि गरिएको कारबाहीको निर्णय पूर्णतः अस्वीकार गरेको बताए ।  

विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिँड्न पुगेका अध्यक्ष मिश्रले आफूमाथि कारबाही गर्नु नै अवैधानिक रहेको पाण्डेकाे भनाइ छ ।

पाण्डेले पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्‍नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत् नै हल गर्नु पर्नेमा सो विपरीत पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसायका साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु दुराशयको पराकाष्ठा भएको बताए । 

अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न समेत उनले सबैमा अनुरोध गरेका छन् । आफूले उन्‍नत, अग्रगामी र सुसंस्कृत विवेकशील साझा पार्टी निर्माणका लागि मेरो जीवनका सर्वाधिक ऊर्जाशील १० वर्ष खर्च गरेको उनले भनेका छन् । 

तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भइरहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि निरन्तर सक्दो योगदान गरेको उनको भनाइ छ । 



अझै उन्‍नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि आफ्नो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध रहेको पाण्डेले बताए । आफ्नो आस्थालाई कसैले खोस्न र कारबाही गर्न नसक्ने उनको दाबी छ । 
 




  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १६:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया