कुलदेवता पूजाको नाममा अमानवीय हर्कत, एकल महिलालाई खुट्टाको तलुवा चाट्न लगाइयो

‘अबदेखि आउँदिनँ भन्दै माफी मागेर कान समाउँछिन् । खुट्टा माथि गर्दै, खुट्टाको पैताला समात्दै चाट्छिन् । अर्का व्यक्तिको पनि खुट्टाको पैताला चाट्छिन् ।’ 

यो कुनै नाटक वा चलचित्रको दृश्य हैन । सुर्खेतको दशरथपुरमा कुलदेवताको नाममा एक महिलामाथि भएको अत्याचारको दृश्य हो । 

कुलपूजा गर्ने भन्दै सुर्खेत दशरथपुरका ज्ञवाली वंशावलीले घरमा पूजाको आयोजना गरेको थियो । उक्त पूजामा ती महिला पनि आएकी थिइन् । कलपूजामा आएकी ती एकल महिलामाथि बोक्सीको आरोप लाग्यो । बोक्सीको आरोप लगाउँदै पुरोहित र धामीले किन आएको भन्दै प्रश्न गर्छन् । उनले नजानेर आएको र गल्ती भएको भन्दै माफी माग्छिन् । 

उक्त घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिएको छ । जुन भिडियाेकाे संवाद यस्ताे छ :
 
पुरोहित : के भयो ? छोराले के गर्‍याे ? राम्रोसँग भन् ! तेरो दिल कसरी दुख्यो ? तँ किन यहाँ आइस ? तलाईं पीर नदुखेर त यहाँ आइनस् होला ? 

महिला : (हातको इसारा गर्दै) म त्याँ जाने हो । 

पुरोहित : त्यतिकै जान पाइँदैन ।
 
महिला : नाइँ, म जाने हो । 



पुरोहित : त्याँ जान मिल्दैन । यहाँ खेलेका अरूलाई पनि त्याँ जान दिएका छैनौं । तँ को होस् भन् ? 

महिला : म शारदा हो, म शारदा हो । 



त्यत्तिकैमा अर्का धामी काप्दै आउँछन् र उनीमाथि जाइलाग्छन् । उनीमाथि झम्टिँदै लछारपछार गर्छन् ।
 
त्यत्तिकैमा एक महिला बोल्छिन् : तान्‍नु के !

पुरोहित : केही हुन्‍न, केही हुन्‍न । केही हुन्‍न, एकछिन पल्टिनुपर्ने हो, डराउनुपर्दैन ! केही हुन्‍न ।
 
पुरोहित फेरि बोल्छन् : अब हेर् यति कर्म गरिस् तेरो कल्याण कहिल्यै हुन्‍न ! तेरा लागि दाना पनि हान्दिनँ । केही पनि गर्दिनँ । 

यत्तिकै ती भुइँमा लडेकी महिला उठ्न सक्दिनन् । जसोतसो उठेर फेरि पुरोहित नजिकै आउँछिन्। पुरोहितले आफ्नो घर जा ! यता दुःख दिने काम नगर् भन्छन् । पछि आफ्नो गल्ती भएको भन्दै महिला माफी माग्दै ढोग्छिन् । 

पुरोहितसँग कुरा गर्दैगर्दा एक जना धामी काँप्दै उफ्रिन्छन् । र उनीमाथि फेरि जाइलाग्छन् । ठूलो धामीले जा भन्‍ने निर्देशन दिएपछि भर्खरैका युवा काँप्दै उनीमाथि जाइ लागेको भिडियो देख्‍न सकिन्छ । केही बेरसम्म लछारपछार गर्दा ससाना बालबालिका आत्तिन्छन् । र, पुरोहित केही पनि हुन्‍न भन्दै सम्झाउने प्रयास गर्छन् । 

अर्का पुराेहित पनि केही हुन्‍न, चोटपटक लाग्दैन । जसले त्यस्तो बनाएको हो, त्यसैलाई हो दुख्ने भन्दै सम्झाउनतिर लाग्छन् । त्यसपछि त्यही पुरोहितले सानो धामीलाई अब छोडिदे भन्दै निर्देशन दिन्छन् । र, उनी आफ्नो स्थानमा गएर बस्छन् । 

त्यसपछि ठूलो धामी अबदेखि आउँछस् कि आउँदिनस\ भन्दै प्रश्न गर्छन् । उनी टाउको हल्लाउँदै अबदेखि आउँदिनँ भन्छिन् । आफ्नो गल्ती भयो अबदेखि आउँदिन भन्दै उनी कान समातेर माफी समेत माग्छिन् । 

त्यही क्रममा उनलाई आफ्नो खुट्टाको पैताला चाट्न लगाउँछन् । र, उनले पैताला चाट्दै माफी पनि माग्छिन् । आफ्नो पैताला चाटेपछि अर्का धामीतर्फ संकेत गर्दै पुराेहितले मेरो बानको पनि चाट् भन्दै निर्देशन दिन्छन् । त्यही क्रममा ती महिला अर्काे धामीको समेत खुट्टाको तलुवा चाट्छिन् । 

यसरी ज्ञवाली परिवारले आयोजना गरेको कुलपूजामा आएकी ती एकल महिलामाथि अमानवीय हर्कत गरिएको हो । उक्त घटनामा संलग्‍न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले महिलामाथि बोक्सीको नाममा खुट्टाको तलुवा चाट्न लगाउने धामी र पुरोहितलाई पक्राउ गरेको छ । 

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले घटनाबारे एक्सन लिएको हो । सुरुमा प्रहरीले पीडितले जाहेरी नदिएकाले कसैलाई पक्राउ गर्न नमिल्ने बताएको थियो । तर, सार्वजनिक ठाउँमा खुलेआम भएको घटना त्यो पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी आफैँ कारबाहीका लागि अघि बढेको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कनकबहादुर शाहीले दुई जनालाई नियन्त्रणमा लिएको र घटनामा संलग्न अन्यको खोजी भइरहेको जानकारी दिए ।
 
सार्वजनिक भिडियोको आधारमा संलग्‍नकाे पहिचान गर्दै पक्राउ गर्ने कार्य जारी रहेको उनको भनाइ छ । 

‘दुई जनाबाहेक अन्य सबै फरार छन् । फरार भएकाहरूकाे खाेजी पनि तीव्र पारिएकाे छ । उनीहरूलाई चाँडै नै कानुनकाे दायरामा ल्याउँछाैं’, प्रहरी निरीक्षक शाहीले भने ।

अपराध संहिताले प्रथा, परम्परा, धर्म, संस्कृति वा कुनै पनि नाममा कसैलाई अपमान गर्ने, भेदभाव वा हिंसा गर्न निषेध गरेको छ । उक्त कार्य दण्डनीय अपराध मानेको छ । यस्तो अपराध गरेको खण्डमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

उजुरी गर्न डराइन् पीडित 

पीडित भनिएकी ती महिलाले भने प्रहरीमा जाहेरी दिन अस्वीकार गरेकी छन् । जाहेरी दिएको खण्डमा भोलि आफूलाई थप समस्या हुने वा हातपात हुने हो कि भन्ने डरले ती महिलाले जाहेरी दिन अस्वीकार गरेको प्रहरी निरीक्षक शाहीले बताए । 

‘उहाँले जाहेरी दिन मान्‍नु भएको छैन । उहाँले जाहेरी नदिएपछि सार्वजनिक स्थलमा घटेको घटनाबाट प्रहरीले नै मुचुल्का तयार गरेकाले हामीले नै टिप्पणी उठाउँदै कारबाही प्रक्रिया अघि बढाएका छौं’, प्रहरी निरीक्षक शाहीले भने ।

विभिन्‍न संघसंस्था तथा अधिकारकर्मीको दबाबपछि प्रहरी घटनाका विषयमा छानबिन गर्न तयार भएको हो ।  
 


  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १७:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया