भारतको महाराष्ट्रस्थित लावुल गाउँ पछिल्लाे एक सातादेखि चर्चामा छ । यो चर्चा भारतभित्र मात्र रहेन, विश्वका कुनाकुनामा फैलियो । चर्चा हुनुको एक मात्र कारण हो- यहाँ बाँदर र कुकुरबीच भएको झगडाको समाचार ।
बाँदर र कुकुरको झगडालाई लिएर धेरै मिडियाले धेरैथरि दाबी गरे । धेरै दाबी एउटै थियो- बदला लिनको लागि बाँदरले २०० कुकुर मारे । धेरै चर्चा भएपछि सत्य के हो ? भन्ने पत्ता लगाउन बिबीसी मराठी सेवाको टोली उक्त गाउँ पुगेको थियो । गाउँ पुग्दा वास्तविकता अर्कै देखियो ।
लावुल गाउँवासीका अनुसार बाँदर र ककुरबीचको लडाइँ सेप्टेम्बर महिनामा सुरु भएको थियो । सेप्टेम्बरको सुरुमा लावुल गाउँमा दुईवटा बादर आएका थिए ।
‘गाउँमा धेरै बाँदर छैनन् । कहिलेकाहीँ आउँथे तर धेरै दुःख दिँदैनथे । तर यसपटक बाँदर आएपछि गाउँमा विचित्रका घटना देख्न पाइयो,’ लावुल ग्राम पञ्चालय समितिका सदस्य रवीन्द्र शिन्देले भने ।
शिन्देका अनुसार बाँदरहरू आएर कुकुरका छाउरा-छाउरी च्याँपी अग्लो रुखमा लिएर जान्थे । सुरुमा त के भएको हो गाउँलेले मेसो पाएनन् । पछि त बाँदरहरू कुकुरको छाउरा-छाउरी च्याँपेर टाढा टाढासम्म भाग्न थाले ।
केही बाँदरले कुकुरको छाउरा-छाउरीलाई यति अग्लो रुखमा लगे कि त्यहाँबाट खस्दा केही छाउरा-छाउरीको मृत्यु भयो । त्यसपछि हल्ला फैलियो- बाँदरले बदला लिन कुकुरलाई मारे ।
त्यसपछि धेरैथरि हल्ला चले- बाँदरले पछ्याउन थाले, बाँदर अघिबाट जाने वित्तिकै मानिस अचानक लड्न थाले ।
यस्तै दुर्घटना सीताराम नायबलसँग पनि भयो । उनी बाँदरले रुखमा लिएर गएको कुकुरको बच्चा खोस्न रुखमा चढेका थिए, बाँदरदेखि डराएर उनी अचानक हाम फाले । हाम फाल्दा उनी घाइते भए । उनको दुवै खुट्टाको हड्डी भाँच्चियाे । उपचारमा करिब डेढ लाख भारतीय रुपैयाँ खर्च भयो ।
हुँदाहुँदै हल्ला यस्तो पनि चल्यो- बाँदरले बच्चाहरूलाई पछ्याउन थाले । त्यसपछि बालबालिकालाई घरबाट बाहिर निस्कन दिइएन । कुरा पुग्यो ग्राम पञ्चायतसम्म ।
ग्राम पञ्चायतले वन विभागलाई जानकारी गरायो । ‘मैले यसबारेमा वन विभागलाई सेप्टेम्बर १-–१३ मा पत्र लेखेको थिएँ । तर कुनै प्रतिक्रिया आएन,’ ग्राम विकास अधिकारी नानासाहेब शेलकेले सुनाए । दोस्रो पत्र पठाउँदा पनि वन विभागले कुनै चासो दिएन ।
गाउँ विवाद समाधान समितिका अध्यक्ष राधाकिशन सोनवानेले गुनासो पोखे, ‘गाउँले निरन्तर यो मुद्दालाई उठाएपछि वन विभागले एक-दुई पटक टीम पठायो, तर उनीहरूले सामान्य निरीक्षण गरेर फर्के ।’
वन विभागले समस्या नहेरेपछि अन्तमा गाउँलेहरु पुगे- मिडियासमक्ष । मिडियामा यति धेरै बढाइ चढाइ घटनाको चर्चा भयो कि त्यो कुरा गाउँलेलाई नै पचेन ।
मिडियामा धेरै चर्चा भएप्छि वन विभागका कर्मचारी बाँदर समात्न गाउँ आए । डिसेम्बर १९ का दिन वन विभागको टीमले जाल बिछाएर बाँदरलाई समाते । उनीहरूले पिँजडामा कुकुरको बच्चा राखेर बाँदरलाई समातेका थिए ।
‘समातेका बाँदरलाई प्राकृतिक आवास अर्थात् जंगलमा लगेर छोडियो,’ वन अधिकारी डिएस मोरेले बताए ।
सुरुमा केही मिडियाले बाँदरले १० देखि १५ वटा कुकुरलाई मारेको उल्लेख गरेका थिए । केही दिनमै यो संख्या निकै बढ्यो । मिडियाहरूले बाँदरले २५० कुकुर मारेको समेत दाबी गरे । वास्तवमा लावुल गाउँमा बढीमा ५० देखि ६० वटा कुकुर मरेका थिए ।
वन अधिकारी डिएस मोरे गाउँलेले दिएका आँकडा पनि सही नभएको बताउँछन् । उनले भने, ‘तीनदेखि चार वटासम्म कुकुरको बच्चाको मृत्यु भएको छ ।’
मर्ने कुकुरको संख्या बढ्दै जाँदा हल्ला पनि बढ्दै गए । एउटा हल्ला यस्तो पनि थियो- कुकुरले बाँदरको बच्चा मार्याे त्यसपछि बाँदरले बदला लिन कुकुर मार्न थाले । बाँदरले रुखको टुप्पोबाट खसालेर कुकुर मारे ।
‘गाउँमा यस्तो पनि हल्ला चल्यो- एक बच्चा बाँदरको मृत्यु भएपछि उसकी आमा पागल भई र कुकुरको बच्चालाई आफ्नो बच्चा सम्झी लिएर भागी,’ ग्राम पञ्चायत सदस्य शिन्देले भने ।
हुँदाहुँदै अवस्था यस्तो आएको थियो- बच्चा स्कुल जान छाडेको थिए, पुरुषहरू खेतमा जान छोडे । अनि महिलाहरू पनि घरबाट बाहिर निस्कन छाडे ।
स्थानीय लक्ष्मण भगतको घरको छतमा कयौं दिनसम्म बाँदर बसेका थिए । उनका अनुसार बाँदरले सो अवधिमा ८ देखि १० वटासम्म कुकुरको बच्चा उनको छतमा लिएर आएका थिए ।
बाँदरले कुकुरको बच्चा किन उठाइरहेका छन् ? धेरैले नबुझेको यही थियो । ‘कुकुरको रौंमा ससना जिवाणु हुन्छन् । बाँदर ती जिवाणु खान्छन् । र ती जिवाणु खानको लागि नै बाँदरले कुकुरलाई लिएर जान्थे,’ वन अधिकारी डिएस मोरेले भने ।
ठूला कुकुरलाई बाँदरले सहजै समात्न सक्दैनन् र ठूला कुकुरले आक्रमण पनि गर्छन् । यसैकारण बाँदरले बच्चा कुकुरलाई समात्ने गर्थे । जिवाणु खाइसकेपछि बाँदरले कुकरका बच्चालाई छोडिदिन्थे । अग्लो रुखबाट ओर्लन खोज्दा बच्चा कुकुर लडेर मरेको मोरेले जनाए ।
जनावर विशेषज्ञ डाक्टर बिएस नाइकवाडे लावुल गाउँमा भएको घटना बढाइचढाइ प्रचार भएको स्वीकार्छन् । बाँदरमा आक्रमक र बदला लिने स्वभाव हुने भए पनि लावुल गाउँमा त्यस्तो किसिमको घटना नभएको उनले जनाए ।
लाइफ केयर एनिमल एसोसिएसनका अध्यक्ष धनराज शिन्देको भने केही भिन्न धारणा छ । बाँदर जिज्ञासु जनावर भएको कारण केही बुझ्न कुकुरलाई समातेर लगेको हुनसक्ने उनको बुझाइ छ ।
‘बाँदर एकदमै जिज्ञासु जनावर हो । जिज्ञासा जागेर उसले यस्तो व्यवहार गरेको हुनसक्छ,’ उनले भने ।
मिडियामा आएजस्तो गाउँले र कुकुरमाथि बाँदरले आक्रमण नगरेको दाबी वन अधिकारी मोरेको छ । उनी भन्छन्, ‘बाँदरका कारण केही दुर्घटना भए होलान् तर बाँदरले गाउँमा कसैमाथि पनि आक्रमण गरेको छैन । यदि बाँदरबीच झगडा भए मानिस डराउँछन् अनि बाँदरमाथि आक्रमण गर्छन् । यस्तोबेला आत्मरक्षाको लागि बाँदरले पनि केही न केही त गर्छ ।’
लावुल गाउँमा तीन महिनादेखि चलेको हल्लाको अन्त भएको छ । गाउँमा कुकुरहरू यत्रतत्र हिँडिरहेका देखिन्छन् । त्यहाँ बच्चा कुकुर पनि छन् । तर अहिले बाँदर छैनन् । उनीहरूलाई समातेर जंगलमा छोडिएको छ ।
-बिबिसीबाट साभार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।