माओवादीको नेतृत्व छनोट : विराटनगरकै शैली दोहोरिने सम्भावना कति ?

आगामी ११ पुसदेखि माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्दैछ । काठमाडौंको प्रज्ञा भवनमा १ हजार ५०० प्रतिनिधिको उपस्थितिमा हुने भनिएको यो सम्मेलनले माओवादी केन्द्रको आगामी नेतृत्व कसरी चयन गर्छ भन्ने आम चासोको विषय बनेको छ ।

यता माओवादी केन्द्रका कार्यकर्तामै पार्टी नेतृत्व र पदाधिकारी चयनको विषय कसरी अघि बढ्ला भन्ने अन्योलता छ ।

माओवादी केन्द्रले इतिहासमै पहिलो पटक प्रदेशको नेतृत्व छान्न मतदान प्रक्रिया अघि बढाएको छ, बागमती प्रदेशबाट ।

यो पटक केन्द्रबाट पनि आन्तरिक निर्वाचन प्रक्रिया अघि बढाएर सकारात्मक सन्देश दिनुपर्छ भन्नेमा माओवादी केन्द्रका नेताहरूको जोड छ ।

तर, त्यो सम्भावना कम हुँदै गएको एक केन्द्रीय नेता बताउँछन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने ‘अब आउने विचार राजनीति कस्तो हुन्छ भन्ने आधारमा पदाधिकारी’ छानिने बताउँछन् ।



सकेसम्म सहमतिकै आधारमा नेतृत्व चयन हुने उनले फरकधारलाई बताए । ‘अहिले त विचार राजनीतिक कस्तो आउँछ त्यसको आधारमा हुन्छ’ उनले भने, ‘सकेसम्म सहमतिकै आधारमा नेतृत्व टुंग्याउने भन्ने हुन्छ । मुख्यतः विचार र राजनीतिक कस्तो आउँछ त्यो आधारमा पदाधिकारी चयनको विषय टुंगिन्छ ।’

विराटनगर सम्मेलनजस्तै हुन्छ यो पटक ?



०७१ सालमा भएको विराटनगर सम्मेलनमा अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेर बाँकी कमिटी थाती राखिएको थियो ।

अहिलेको सम्मेलनबाट पनि सोही अवस्था फर्कनसक्ने एक जना प्रचण्डनिकट नेताको बुझाइ छ ।

ती नेता भन्छन्, ‘विराटनगर सम्मेलनमा जस्तै यो पटक पनि अध्यक्ष मात्र चयन गरेर बाँकी पदाधिकारी चयन प्रक्रिया थाति राख्न सक्नेछन् ।’

विराटनगर सम्मेलनबाट अध्यक्ष र केन्द्रीय कमिटी सर्वसम्मतिले टुंगाएर बाँकी पदाधिकारी काठमाडौंमा गएर टुंग्याउने भनिएको थियो । त्यतिबेला बाबुराम भट्टराईको समूहले सो निर्णयका विरोध गरेका थियो । उनको विरोध सुनुवाइ नभएपछि अन्ततः बाबुरामले पार्टी नै छाडेर नयाँ पार्टी दर्ता गराएका थिए ।

‘त्यतिबेला बाँकी पदाधिकारी काठमाडौंमै गएर टुंग्याउने भन्ने भएको थियो । अहिले पनि त्यस्तै हुन्छ जस्तो लाग्छ’ ती नेताले भने ।

यो पटक पनि अध्यक्ष र केन्द्रीय कमिटी चाहिँ सर्वसम्मतिले नै टुंग्याउने गरी तयारी भइरहेको ती नेताले जानकारी दिए । यद्यपि अरू बाँकी पदाधिकारी पार्टी बैठकले नै टुंगो लगाउने गरी राष्ट्रिय सम्मेलन सकिनेछ ।

‘धेरैलाई जुधाउने, एउटालाई जिताउने’

पार्टीभित्र निर्वाचन प्रणालीको सुरुवात गरेको माओवादीले यो पटक नेतृत्व छनोटका लागि निर्वाचनमा जान्छ वा जाँदैन भन्ने आम चासो छ ।

अध्यक्ष प्रचण्डले गरेका निर्णयको इतिहासलाई साक्षी राख्ने हो भने उनले यो पटकको नेतृत्वमा पनि धेरै आकांक्षीलाई भिडाउनेछन् ।

अध्यक्ष प्रचण्डको यसअघिको कार्यशैलीलाई समीक्षा गर्दै ती नेताले भने, ‘अध्यक्षको अहिलेसम्मको कार्यशैली हेर्दाचाहिँ दुई/तीन जना जुधाइदिने हो, अन्तिममा आफ्नो एउटा मान्छे ल्याउनेगरी निर्णय गर्ने हो । अहिले नै को हुन्छ भन्ने भन्नचाहिँ सकिएको छैन् ।’

पदाधिकारीमा को-को ?

११ देखि १५ जनासम्मको पदाधिकारी बनाउने तयारी माओवादीको छ ।

माओवादी नेताहरूका अनुसार समावेशी, महिला र खुला गरेर पाँच उपाध्यक्ष बन्नेछन् । प्रचण्डपछि एक जना वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष एक र चार जना उपाध्यक्ष हुने बताइएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाम चर्चामा छ । उनीसँगै पार्टी प्रवक्तासमेत रहेका कृष्णबहादुर महराको नाम पनि वरिष्ठ उपाध्यक्षका लागि चर्चामा छ ।

त्यस्तै, पार्टीमा अध्यक्षभन्दा पछि महत्त्वपूर्ण मानिने महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको चर्चा छ । चीनमा उपचाररत पुन र अर्थमन्त्रीसमेत रहेका शर्माबीच पल्लाभारी हुने भएको छ ।

यसबाहेक देव गुरुङ, पम्फा भुसाल, मात्रिका यादव, हरिबोल गजुरेल लगायतका नेताहरूको नाम उपाध्यक्षको चर्चामा रहेको ती नेताले जानकारी दिए । सम्मेलनमा पार्टीको विचार, कार्यदिशा र संगठनात्मक संरचनाबारे बहस हुने बताइएको छ ।

कस्तो नेतृत्वको बहस ?

माओवादीमा लामो समयदेखि पदाधिकारीमा जिम्मेवारी विभाजन गरेर सामूहिक नेतृत्व गर्ने प्रणाली अवलम्बन गर्ने विषयमा बहस हुँदै आएको छ ।

माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था भए पनि अध्यक्षबाहेक अरू सबै पद रिक्त छन् । बहुपदीय नेतृत्व हुने भनिए पनि त्यसमाथि छलफल अघि नबढेको नेताहरूको स्वीकारोक्ति छ ।

पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्‍चयजस्तै रहेको माओवादी नेता र जानकारहरूको बुझाइ छ ।

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १४:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया