सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीले राखेका जिज्ञासामा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका हुन् ।
उनले एमालेले अब पनि संसद बैठक सुचारु नगरे जनता आफैँले दण्डित गर्ने दाबीसमेत गरे । अध्यक्ष भट्टराईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्कसमेत गरे ।
गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा छन् भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहेको उनको भनाइ थियो । उनले संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीँभित्र तर्क-वितर्क गर्ने रहेको बताए ।
‘बैठक नै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो । संविधानलाई असफल पार्ने कुरा हो । यसले पनि केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो । उहाँहरू अहिले पनि त्यसैमा हुनुहुन्छ । सरकारले अग्रसरता लिने भनेको त उहाँहरूलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ, त्यसलाई दण्डित गर्न मात्रै बाँकी छ' उनले भने ।
अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।