कैलालीका २५ वर्षीय अर्जुन दास ३ पुसमा घाँटी रेटेर टाउको अलग गरिएको अवस्थामा फेला परे । जानकी गाउँपालिका–९ का दासको शव अमरावती सामुदायिक वनमा बीभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।
बीभत्स अवस्थामा शव फेला परेसँगै कैलाली प्रहरीले घटनाको अनुसन्धान थाल्यो । जसको निष्कर्ष अझै निकाल्न सकिएको छैन । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको तर, घटनाको यथार्थ पत्ता लाग्न सकेको छैन । प्रहरीले विभिन्न ‘क्लू’ त फेला पारे पनि विश्वस्त भने हुन सकेको छैन ।
कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान जारी रहे पनि निष्कर्ष भने निकाल्न नसकिएको बताए । घटनामा ५ देखि ६ जनाको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । जसमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भनिएकाहरू भारततिर भूमिगत छन् । उक्त घटनापछि सार्वजनिक भएको फोन अडियोबाट नै घटनामा संलग्नहरूको पहिचान भएको प्रहरीले जनाएको छ ।
फोन अडियोमा खुल्न आएको बक्सदेखि केही अन्य तथ्य पनि प्रहरी अनुसन्धानबाट फेला पारेको छ । आखिर के छ घटनाबारे फेला परेका महत्त्वपूर्ण ‘सुराक’ ?
फोन अडियोबाट रहस्यमय बक्स
मृतक दासका छिमेकीसँग गरिएको फोन अडियोमा बक्सको कुरा उठाइएको छ । सार्वजनिक फोन अडियो तीन मिनेट २२ सेकेन्डको छ । जसमा आफूलाई मनोज बताउने युवकले घाँटी अलग शरीर अलग गरेको भन्दै कुरा गरेका छन् । उनले भनेका छन्,– 'घाँटी र शरीर अलग–अलग छ । तपाईले एक/दुई दिनमा थाहा पाउनुहुन्छ ।'
त्यस्तै फोन अडियोमा बक्सको कुरा गरेका छन् । जसमा भनिएको छ,– ‘त्यो बक्स उठाउने मान्छेलाई उडाइदिएको हो’ भनेर मनोज भनिएका युवकलाई अर्का युवकले सोधेका छन् । मनोजले समेत 'हो..हो..' भन्दै घाँटी अलग शरीर अलग भनेका छन् ।
प्रहरीले एउटा पत्ता लगाएको सुराक र अनुसन्धानतर्फ सोधिएको त्यही बक्स हो । बक्स के हो ? भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म बक्सको विषयमा दिने जवाफ प्रहरीसँग छैन ।
डीएसपी जोशी भन्छन्,– ‘बक्स शब्द नै अनुत्तरित छ । मोबाइल चोरीको बक्स हो कि, ठूलै परिमाणमा लागुऔषध रहेको बक्स हो यो अरू केही हो भन्ने पाटोतिर अनुसन्धान भइरहेको छ ।’
एउटै समूहबीच विवादपछि हत्या
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट मारिएका दास र हत्याराहरू एउटै समूहमा रहेको निष्कर्ष निकालेको छ । डीएसपी जोशी भन्छन्,– ‘अहिलेसम्मको अनुसन्धानले सबै जना एउटै समूहका रहेछन् । केही कुरा नमिलेर सामान्य विवादले हत्याको रूप लिएको जस्तो देखिन्छ ।’
सबै जना एउटै समूहमा रहेको र लागुऔषध प्रयोगकर्ता तथा बिक्री वितरण गर्ने समूह रहेको हुनसक्ने उनको भनाइ छ । प्रहरीले आरोपित र मृतकको परिवारबाट समेत सहयोग पाउन सकेको छैन ।
‘परिवारले पनि खुलेर कुरा गरिरहेको छैन । केही लुकाएर कुरा गरिरहेको जस्तो देखिन्छ । शंकास्पद पक्राउ परेपछि मात्रै घटनाको कारण पत्ता लाग्छ’ डिएसपी जोशीले भने ।
कुनै बहुमूल्य सामानका कारण हत्या
प्रहरीले फेला पारेको अनुसन्धानतर्फ केन्द्रीय भएको अर्को सुराक हो,– बहुमूल्य सामान । हत्याको अघिल्लो दिन शुक्रबार दास आफ्नै साथीहरूसँगै घरबाट निस्किएका थिए । सोही दिन बेलुका केही साथीहरू उनको घरमा आए ।
घरमा आएर श्रीमतीलाई ‘तेरो श्रीमानलाई अपहरण गरेर राखेका छौं’ भन्दै धम्की दिए । तर, श्रीमतीले भने उक्त धम्कीबारे न प्रहरीलाई खबर गरिन् न त घरपरिवारलाई नै जानकारी गराइन् ।
‘बक्स खै’ भन्दै केही व्यक्तिहरूले उनको घरमा आएर खानतलासीसमेत गरेका थिए । सबैतिर बक्सको मात्र कुरा आएपछि प्रहरीले बक्सको रहस्य पत्ता लगाउनतर्फ लागेको छ । त्यो बक्स कुनै महत्त्वपूर्ण धातुको पनि हुनसक्छ भन्नेतिर पनि अनुसन्धान गरिरहेको छ ।
‘बक्समा भारतबाट चोरेर ल्याएको हीरा वा सुन केही महत्त्वपूर्ण गहना पनि हुनसक्छ । हामीले त्यसतर्फ पनि केन्द्रीत भइरहेका छौँ,’ डीएसपी जोशीले भने, ‘सबैभन्दा पहिला त बक्स र शंकास्पद व्यक्तिहरूको खोजी नै गरिरहेका छौँ । त्यसपछि मात्र घटनाको सबै कुरा पत्ता लाग्न होला ।’
पछिल्लो समय कैलाली र कञ्चनपुर लागुऔषध र दुर्व्यसनीको अड्डा बन्न थालेको छ । जसले गर्दा आफ्नै समूहका साथीहरूबीच कुटपिट हुने, झै–झगडा गर्ने जस्ता थुप्रै घटना बाहिर आउने गरेको छ । प्रहरीले दास हत्या घटना पनि त्यसकै कारण त हैन किन भन्नेतिर केन्द्रीत भइरहेको छ ।
शंकास्पद खोज्न भारत पस्यो प्रहरी
घटनामा संलग्न भनिएकाहरूको खोजीका लागि प्रहरी टोली भारततर्फ लागेको छ । प्रहरी सहायक निरीक्षक (सई) को कमाण्डमा सात जना प्रहरी टोली मंगलबार भारत गएको कैलाली प्रहरीले जनाएको छ । फरार व्यक्तिहरू कैलालीकै गौरीफन्टा नाका हुँदै भारततिर पसेको देखिएको प्रहरीले जनाएको छ । भारतमा उनीहरू लुकेर बसेको भन्दै उनीहरूलाई खोज्न प्रहरी त्यसतर्फ लागेको हो ।
सार्वजनिक भएको फोन अडियोमा भने उनीहरूले नेपालगञ्ज हुँदै रूपडिया नाकाबाट भारत पसेको बताएका थिए । तर, प्रहरीले भने झुक्याउनको लागि रुपडिया नाका भनेको भए पनि उनीहरू गौरीफन्टा नाका हुँदै भारततिर लागेको जनाएको छ ।
युट्युबरलाई प्रहरीको चेतावनी
जहाँ घटना हुन्छ त्यहाँ युट्युबरको विगविगी हुन्छ । अहिले दास हत्या घण्टामा पनि थुप्रै युट्युबरहरू आफैँ न्यायाधीश बनेजसरी फैसला समेत गर्दै आएका छन् । घटनाबारे भ्रामक समाचार प्रचारण गरेको भन्दै कैलाली प्रहरीले कारवाहीको चेतावनी नै दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रेस विज्ञप्ति नै जारी गरेर भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालकले भ्रामक शीर्षक, फोटो र विषयवस्तु राखेकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल र वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रसारण गरेको प्रहरीले जनाएको छ । उनले ती च्यानलमा प्रसारण भएका भ्रामक सामग्री हटाउन आग्रह गर्दै यदि नहटाइएको खण्डमा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।