शेख मोहम्मद–राजकुमारी हया सम्बन्धविच्छेद : सम्पत्तिका लागि कि सुरक्षाका लागि ?
सौतेनी छोरीका कारण सुरु भएको थियो सम्बन्धमा दरार
फरकधार / ७ पुस, २०७८

दुबईका शासक तथा युनाइटेड अरब इमिरेट्स (युएई)का प्रधानमन्त्री शेख मोहम्मद बिन रासिद अल मकतुम र राजकुमारी हया बिन्त अल–हुसैनबीच सम्बन्ध–विच्छेद भएको छ । बेलायतको उच्च अदालतले मंगलबार उनीहरुबीच सम्बन्धविच्छेद भएको औपचारिक फैसला सुनाएको हो । 



बेलायती अदालतको इतिहासमा शेख मोहम्मद र हयाबीचको सम्बन्धविच्छेदलाई अहिलेसम्मको सबैभन्दा ठूलो सम्बन्धविच्छेदको घटनाको रूपमा व्याख्या गरिएको छ । ठूलो भनिनुको पछाडि कारण एउटै छ– शेख मोहम्मदले हयालाई दिनुपर्ने क्षतिपूर्ति रकमको परिमाण । 

बेलायतको उच्च अदालतले सम्बन्धविच्छेदलाई सुल्झाउन अर्बपति शासक शेख मोहम्मदले ५५ करोड पाउन्ड अर्थात् साढे ८८ अर्ब रुपैयाँभन्दा बढी रकम आर्थिक दायित्व बेहोर्नुपर्ने फैसला सुनाएको छ । अदालतको फैसलाअनुसार हयाको बन्दोबस्तीको लागि २५ करोड पाउन्ड पति शेख मोहम्मदले उपलब्ध गराउनुपर्र्नेछ । 

४७ वर्षकी हया जोर्डनका पूर्वराजा हुसैनकी छोरी हुन् । हया जोर्डनका शाह अब्दुल्लाहकी सौतेनी बहिनी पनि हुन् ।  शेख मोहम्मद युएईका प्रधानमन्त्री हुन् । घोडादौड प्रतियोगीहरुमा उनको नाम शीर्ष स्थानमा आउँछ । शेख मोहम्मदले कुल ६ वटा विवाह गरेका छन् । हया उनकी कान्छी पत्नी हुन् । 



बेलायतको अदालतले हयाको दुईवटा आवास मर्मत सम्भारका लागि पनि उनलाई रकम उपलब्ध गराउन भनेको छ । अदालतले सुरक्षा खर्च, बिदा मनाउने खर्च, एक नर्स, परिवारको लागि बख्तरबन्द गाडी, घरपालुवा जनावरका लागि आवश्यक खर्चसमेत हयालाई उपलब्ध गराउन शेख मोहम्मदलाई भनेको छ । 

फैसलामा अदालतले दुई बच्चाका लागि प्रत्येक वर्ष ५६ लाख पाउन्ड उपलब्ध गराउनुपर्ने बताएको छ । हया र शेख मोहम्मदका चार बच्चा छन्, जसमध्ये दुईजना बेलायतमा रहेका छन् । बेलायतमा उनीसँगै रहेकामा एक जना १४ वर्षकी छोरी र अर्को ९ वर्षका छोरा छन् । उनीहरुलाई २९ करोड पाउन्डको ग्यारेन्टी पनि गर्नुपर्ने फैसलामा उल्लेख छ । 

राजकुमारी हया आफ्नो छोरा–छोरी लिएर सन् २०१९ मा दुबईबाट भागेर बेलायत पुगेकी थिइन् । दुबईको शाही परिवारविरुद्ध बेलायतको अदालतमा चलेको यो सबैभन्दा लामो मुद्दा थियो । 

राजकुमारी हया बेलायत आएलगत्तै उनलाई बारम्बार धम्की आएको थियो । उनलाई म्यासेज आउने गथ्र्यो, ‘तिमी जहाँ रहे पनि हामी त्यहाँ आउन सक्छौँ ।’ त्यसपछि बेलायतले उनलाई विशेष सुरक्षा प्रदान गरेको थियो । 

यसै वर्ष अदालतले शेख मोहम्मदले राजकुमारी हया, उनको बडीगार्ड र वकिलको मोबाइल फोन अवैध तरिकाले ह्याक गरेको फैसला सुनाएको थियो । यो ह्याकिङमा पेगासस स्पाइवेयर प्रयोग गरिएको समेत सार्वजनिक भएको थियो । 

मंगलबार फैसला सुनाउँदै गर्दा न्यायाधीश मुल नेले राजकुमारी हयाको सुरक्षा सुनिश्चित गर्नसमेत आदेश दिएका थिए । हयाले बारम्बार आफ्नो ज्यान जोखिममा रहेको बताउँदै आएकी छन् । शेख मोहम्मदले आफ्ना अन्य दुई छोरी शेख लतिफा र शेख सम्सालाई उनको इच्छाविपरीत दुबई लगेपछि हयाले आफू असुरक्षित रहेको बताउँदै आएकी थिइन् । 

७२ वर्षका शेख मोहम्मदले छोरी अपहरण गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।

हयाले अदालतसँग ‘फोर्स म्यारिज प्रोटेक्सन अर्डर’ माग गरेकी थिइन्, जसले कुनै पनि व्यक्तिलाई विवाहको नाममा जर्बजस्ती राख्नबाट बचाउँथ्यो । अदालतले फैसला सुनाउँदा शेख मोहम्मद भने उपस्थित थिएनन् । 

बेलायती अदालतको यो फैसलालाई एकदमै संवेदनशील भनिएको छ । राजकुमारी हयाले आफ्ना छोराछोरीको उज्ज्वल भिवष्यका लागि सम्बन्धविच्छेद गर्नुपरेको बताएकी छन् । शेख मोहम्मदले भने हयाले सम्पत्तिका लागि सम्बन्धविच्छेद गरेको आरोप लगाएका छन् । 

झगडाको सुरुवात

दुबईको शाही परिवार निकट व्यक्तिका अनुसार शेह मोहम्मद र हयाबीचको पारिवारिक झगडा ३३ वर्षीय छोरी शेखा लतिफाका कारण सुरु भएको थियो । शेखा शेख मोहम्मदकी अर्को पत्नीपट्टिकी छोरी हुन् । 

शेखा लतिफा पहिला पनि विवादमा आएकी थिइन् । शाही परिवारले शेखाको केही क्रियाकलापमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि उनले घरबाट भाग्ने प्रयास गरेकी थिइन् । 

शेखा लतिफाका साथीहरुका अनुसार पछिल्लो वर्ष उनले भाग्ने प्रयास गरेकी थिइन् । तर, भारतीय समुद्री किनारनजिक युएईको सेनाले उनलाई पानी जहाजबाट पक्राउ गरेको थियो । 

गत डिसेम्बरमा आयरल्यान्डका पूर्वराष्ट्रपति मैरी रोबिन्सनका साथ एक बैठकमा देखिएकी शेखा त्यसपछि कतै देखिएकी छैनन् । रोबिन्सन संयुक्त राष्ट्रसंघीय मानवअधिकार समूहकी पूर्वप्रमुख हुन् र राजकुमारी हयाकी साथी पनि । 

उक्त बैठकपछि शेखा अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको अनुमान गरिएको छ । उनलाई नजरबन्दमा राखिएको धेरैको अनुमान छ । शेखालाई लिएर युएईको आलोचना भएपछि युएई प्रशासनले शेखाको उपचार र रोबिन्सनसँग भएको भेटबारे जानकारी दिएको थियो । 

गत वर्ष मार्चमा शेखाले सार्वजनिक गरेको ४० मिनेट लामो भिडियोमा आफ्नो अवस्थाको बारेमा जानकारी दिएकी थिइन् । उनले आफू दुबईमा बस्न नचाहेको समेत स्पष्ट शब्दमा भनेकी थिइन् । उनले आफ्नी बहिनी सम्सा सन् २००० मा बेलायतमा छुट्टी मनाउने क्रममा भागेको समेत उल्लेख गरेकी थिइन् । 

‘जब तपाईं यो भडियो हेरिरहनु भएको हुनेछ, त्यतिबेला म मरिसकेको पनि हुनेछु वा एकदमै नाजुक अवस्थामा हुनेछु,’ शेखाले भनेकी थिइन्  ।

शेख मोहम्मद र बेलायत सम्बन्ध 

हया भागेर बेलायतमा बसे पनि शेख मोहम्मदको बेलायतसँग असाध्यै राम्रो सम्बन्ध रहेको छ । उनले बेलायतको सैन्य एकेडेमी स्यान्डहस्र्टबाट स्नातक गरेका थिए ।

महारानी एलिजाबेथलाई जस्तै उनलाई पनि घोडासँग प्रेम छ । उनी बेलायतको घोडासवार उद्योगमा उनको बलियो उपस्थिति रहेको छ । शेख मोहम्मदको बेलायतमा थुप्रै सम्पत्ति रहेको छ । उनको नेतृत्वमा नै दुबई विश्वको प्रमुख व्यापारिक केन्द्र तथा पर्यटकीय स्थल बनेको थियो । 

तर, अहिले लन्डनमा उनको पारिवारिक घम्साघम्सी चलिरहँदा दुबईमा पनि उनले राजनीतिक तथा आर्थिक चुनौतीको सामना गर्नुपरिरहेको छ । पछिल्लो चार वर्षमा युएईको अर्थ व्यवस्था केही सुस्ताएको छ । क्षेत्रीय तनावका कारण तेलको मूल्य तल झर्दा उनीमाथि थप दबाब परेको छ । 

हया र शेख मोहम्मदबीचको कानुनी लडाइँले जोर्डनका शाह अब्दुल्लाको पनि तनाव बढाएको छ । किनकि जोर्डनले युएई र साउदी अरबबाट ठूलो आर्थिक सहायता प्राप्त गर्दै आएको छ । 

को हुन् राजकुमारी हया ? 

राजकुमारी हयाको जन्म सन् १९७४ मेमा भएको थियो । उनको पिता जोर्डनका शाह हुसैन हुन् भने आमा महारानी आलिया अल–हुसैन । राजकुमारी हया तीन वर्षको हुँदा उनको आमाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । 

हयाले आफ्नो बाल्यअवस्था बेलायतमा बिताएकी थिइन् । उनले दुई निजी स्कुलबाट आफ्नो पढाइ पूरा गरेकी थिइन् । ती थिए– ब्रिस्टलको ब्यामिन्टन स्कुल र डार्सेटको ब्रायनस्टन स्कुल । हयाले अक्सफोर्ड युनिभर्सिटीमा राजनीति, दर्शन र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । 

उनले आफ्ना अन्तर्वार्तामा आफूलाई बाज पाल्ने सोख रहेको बताएकी थिइन् । जोर्डनमा ठूलो ट्रक चलाउन लाइसेन्स पाउने उनी एक मात्र महिला हुन् । 

हया घोडादौडमा पनि रुचि राख्छिन् । उनले २० वर्षको उमेरमा घोडादौडलाई आफ्नो करिअरको रुपमा छनोट गरेकी थिइन् । उनले सन् २००० को ओलम्पिकमा जोर्डनबाट घोडादौड प्रतिस्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् । 

(बिबिसी) 

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २०:८:४०,   अन्तिम अपडेट : पुस ७, २०७८ बुधबार २०:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया