कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका छौँ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरस नियन्त्रणमा  सरकार क्रियाशील  रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उनले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी बनाउन सरकारको ध्यान केन्द्रित भएको बताए ।

'कुनै विशेष तह वा क्षेत्रको प्रतिकार्यले मात्रै कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्भव नहुने हुनाले यसका विरुद्ध सबै क्षेत्र, वर्ग र तह तप्का लाग्नु आवश्यक छ', उनले भने, 'सबैको प्रयासले एकले अर्कालाई सुरक्षित राख्ने र सम्भावित जोखिमबाट बच्न र बचाउने भूमिका निर्वाह गर्नुपर्छ, सुझबुझपूर्ण साथ र व्यवहारले मात्र यो लडाईं जित्न सम्भव छ ।'

जनस्वास्थ्यका मापदण्डको पालना र कोभिड–१९ विरुद्धको खोप अभियानमा सक्रिय सहभागिताले नै कोरोना नियन्त्रणमा सहयोग मिल्ने उल्लेख गर्दै मन्त्री खतिवडाले सर्वसाधारणलाई सहज हुने गरी खोप केन्द्रमार्फत सरकारले निःशुल्क खोप उपलब्ध गराउँदै आएको बताए ।

सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ । उनले सरकारको प्राथमिकतामा रहेको कोरोना विरुद्धको खोप अभियानलाई सफल पार्न अपिल गरे ।

मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरे । ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको उनले बताए ।



सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मंसिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ । यस्तै अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना संकलन गरी जीन सीक्योन्सिङ गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म दुई करोड १९ लाख ८८ हजार ५१६ मात्रा खोप लगाइएको मन्त्री खतिवडाले जानकारी दिए । एक मात्रा खोप प्राप्त गर्नेको संख्या एक करोड २२ लाख ५१ हजार १८३ र पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ३७ हजार ३३३ रहेको छ ।



  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १९:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया