अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।
बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशमान श्रेष्ठले तरलता अभाव हुन नदिन विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा पैसा पठाइएको जानकारी दिए । यसैगरी शोधानान्तर घाटा कम गर्नका लागि आयात निरुत्साहित गर्ने कदम चालिएको उल्लेख गरे ।
अर्थतन्त्र सुधार लागि राष्ट्र बैंकद्वारा चालिएका कदम
तरलता समस्याका लागि
चालू आर्थिक वर्षको पुस ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत २५०० अर्ब रुपैयाँ, ओभरनाइट रिपोमार्फत ६९ अर्ब रुपैयाँ, रिपोमार्फत २२० अर्ब र सोझै खरिद मार्फत २७ अर्ब रुपैयाँ प्रवाह भएको ।
कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको ।
पुनर्कर्जा सुविधा उपलब्ध गराइएको (चालू आवको हालसम्म ९२ अर्ब स्वीकृत)
नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएको ।
ब्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने ।
शोधनान्तर घाटाको सम्बन्धमा
चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको ।
केही वस्तुहरूको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था ।
वैदेशिक रोजगारमा रहेकाहरूलाई बैंकको खातामा १ प्रतिशत थप ब्याज प्रदान ।
गैरआवसीय नेपाली तथा यिनीहरूको संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्दती खाता खोल्न सक्ने व्यवस्था ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौती ।
अवैध ढंगले आयात भइरहेको सुनलाई नियन्त्रण गरिएको ।
विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको ।
ननडेलिभरेबल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा घटाइएको ।
अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।