केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा चितवनका कवि तथा व्यवसायी सुमन घिमिरेले एउटा तस्वीर राखे । अनि क्याप्सनमा लेखे- बच्चा च्यापेर अध्यापन ।
उनको तस्वीरमा एक युवती बच्चा च्यापेर एउटा कक्षाकोठामा पढाइरहेकी छन् ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा रहेको देवी भन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलाको एउटा कक्षाकोठाको तस्वीर हो, सुमनको । कक्षा कोठामा पढाइरहेकी छन्- पल्लवी चेपाङ । अनि दूधे बालक लिएकी छन् काखमा ।
सुमनले फेसबुकमा तस्वीर राखेपछि हामीले पनि त्यसलाई अझ बुझ्ने निर्णय गर्याैं । प्रधानाध्यापक ज्ञानु पाण्डेसँग हामीले सम्पर्क गर्याैं । तर, पल्लवीसँग त्यही दिन सम्पर्क हुन सकेन ।
भोलिपल्ट पल्लवीसँग सम्पर्क हुँदा सधैंजसो उनी डेढ वर्षे आफ्नो बच्चालाई लिएर स्कुलमा पुगेकी थिइन्- अंग्रेजी पढाउन ।
काखे बच्चा च्यापेर चितवनको दुर्गम गाउँ मानिने इच्छाकामना पुगेर किन पढाइरहेकी छन् त पल्लवी ? जो कोहीलाई यही प्रश्नले घेर्न सक्छ, जो कोहीलाई लाग्न सक्छ।
यसका लागि पल्लवीसँग सरल र सहज जवाफ छ ।
‘स्कुलमा पढाउन थालेको एक वर्ष भयो,’ उनले भनिन्, ‘एक दिन मात्र स्कुलमा आइनँ भने भोलिपल्ट कक्षामा छिर्नेवित्तिकै विद्यार्थीहरुले पहिलो प्रश्न गर्छन्- म्याम हिजो किन नआउनु भएको ?’
विद्यार्थीहरुको यो प्रश्नको चाहिँ सरल जवाफ हुँदैन, पल्लवीसँग । बरु यो प्रश्नमा त उनी कक्षाका बालबालिकाको बालापन देख्छिन्, मायाले भरिएको आवाज सुन्छिन् र स्कुल नगएको एक दिन उनलाई एक वर्षजस्तो अनुभूत हुन्छ ।
२४ वर्षकी पल्लवीलाई थाहा छ, उनको काँधमा आफ्नै डेढ वर्षे बच्चा छ अनि छ स्कुलका विद्यार्थीहरुको भविष्य पनि उनको काँधमा । त्यसैले त चनौटेबाट एक घन्टा हिँडेर उनी दैनिक स्कुल पुग्छिन् र चेपाङ गाउँका बालबालिकालाई एबिसिडी पढाउँछिन् ।
‘मेरो काँधमा मेरो बच्चा त छ,’ उनले भनिन्, ‘फेरि यहाँका बालबालिकाको भविष्य उज्ज्वल बनाउने जिम्मेवारी पनि त मेरो काँधमा छ ।’
एक वर्षअघि मंसिरमा स्कुल पढाउन थाल्दा केही समय ‘झन्झटिलो’ लाग्यो पल्लवीलाई, केही समय गाह्रो । ‘तर, अहिले त यी बालबालिकाको तोतेबोलीले नै मन लोभ्याउँछ,’ उनले भनिन्, ‘अब त सबै बालबालिकालाई यसरी नै पढाउन पाए हुन्थ्यो जस्तो लाग्छ ।’
भाग्यले भनौँ वा परिस्थितिले जुर्याएकाे भनौँ, पल्लवीले आफ्नो उमेरमा गाउँमै मेलापातमा समय बिताउन परेन । उनलाई एउटा कुनै संस्थाले सहयोग गर्यो, उनी काठमाडौंमा बसेर अध्ययन गर्न थालिन् । काठमाडौंको जनप्रेमी कलेजबाट स्नातक सकिएपछि उनी गाउँ फर्किने ‘मुड’मा पुगिन् । ‘गाउँमा आफूजस्तै बालबालिका छन्, उनीहरुको भविष्य उज्यालो बनाउनु पर्छ, बलियो बनाउनु पर्छ भनेर गाउँ फर्किएकी हुँ,’ उनी भन्छिन्, ‘यस अर्थमा पनि मैले आफूले आफूलाई निकै भाग्यमानी सोचेकी छु, पाएकी छु ।’
यो प्राविका विद्यार्थीहरुलाई मात्र होइन, पल्लवीले पछिल्लो समय आफ्नै श्रीमानलाई पनि पढाइरहेकी छन् ।
‘उहाँ १२ कक्षामा पढिरहनु भएको छ,’ पल्लवीले भनिन्, ‘बेलाबेलामा यो आएन सिकाइदे भन्नुहुन्छ । उहाँले भन्ने वित्तिकै आउने कुरा पनि त भएन, भोलिपल्ट विहान किताब हेर्छु र आफूले जानेको सिकाइदिन्छु ।’ श्रीमानलाई पढाइमा सहयोग गरिरहेकी पल्लवीलाई पनि उनका श्रीमानले सहयोग गर्छन्, किचनमा । श्रीमानलाई होमवर्क गर्न समय भ्याइनभ्याइ हुन्छ, पल्लवीलाई सहयोग गर्न चाहिँ उनी अगाडि बढिहाल्छन् ।
पल्लवीको घरबाट स्कुल पुग्न एक घन्टा लाग्छ ।
कहिले बच्चालाई घरमै सासूआमासँग छोडेर पल्लवी स्कुलतिर जान्छिन्, श्रीमानको बिदा रहेछ भने बच्चाको जिम्मेवारी उनले पनि लिन्छन् ।
‘सधैं बोकेर जान सम्भव पनि त हुँदैन,’ पल्लवी भन्छिन् ।
काठमाडौंमा स्नातक सकिएपछि पल्लवीले गाउँमा गएर अरु बालबालिकालाई राम्रो शिक्षा दिने निर्णय गरिन् । उनको यो निर्णयमा साथ दिइन्, देवी भन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक ज्ञानु पाण्डेले ।
‘स्कुलमा दरबन्दी त थिएन तर मेडमले मलाई पढाउन प्रस्ताव गर्नुभयो,’ पल्लवीले भनिन्, ‘मलाई त ढुंगा खोज्दा देउता मिल्या जस्तो भयो ।’
त्यसपछि मासिक १० हजारमा अनुबन्धित भइन्, विद्यालयमा पल्लवी ।
स्कुलमा पढाउन मात्र के थालेकी थिइन्, पल्लवीलाई गाउँघरका सबैले प्रशंसा गर्छन् । अनि विद्यार्थीहरुले पनि ।
‘गाउँघरमा आफूभन्दा सिनियर र साथीभाइले निकै माया गर्नुहुन्छ, राम्रो गरेकी छु भन्नुहुन्छ,’ फोनमा नै किन नहोस्, पल्लवी हाँसिन्, ‘त्यही भएर पनि आजभन्दा भोलि राम्रो गर्नुपर्छ भन्ने सोच्छु । त्यसैमा मेरो ध्यान हुन्छ ।’
विद्यालयका विद्यार्थीहरुलाई पढाएर उज्ज्वल भविष्य बनाउन लागेकी पल्लवीले हामीसँगको कुराकानीमा आफ्नो जीवनलाई फर्किएर पनि हेरिन् । काठमाडौंमा पढाइ सकिएपछि पल्लवी फर्किएर गाउँ गइन् । अनि उनको विवाहको कुरा चल्यो । उनलाई माग्न केटाका बाबुआमा आए, केटाले पनि पल्लवीलाई मन पराए ।
‘मलाई पनि मन पर्याे,’ उनी हाँसिन्, ‘हामी दुवैको मन मिल्यो, विहे भयो ।’
बिहे गरेपछि बल्ल थाहा भयो पल्लवीलाई उनका श्रीमान उनीभन्दा कान्छा रहेछन्, अनि उनीभन्दा कम कक्षामा पढिरहेका पनि । ‘मन मिलिसकेको थियो, यी कुराले असर गरेन,’ पल्लवीले भनिन्, ‘मन मिलेकाले नै त अहिले हामी एकअर्कालाई पूर्णरुपमा सहयोग गरिरहेका छौँ ।’
जे होस्, अरु सबथोक छोडेर अब पल्लवीलाई आफ्नो गाउँ वरपर शिक्षाको ज्योति फैलाउनु छ, आफूजस्तै ठाउँमा जन्मिएका बालबालिकालाई जीवनमा अगाडि बढ्न सहयोग गर्नुछ ।
त्यसैले पनि उनले निर्धक्क भएर, आशा पालेर र ठूलो चिन्ता र चासोका साथ २०५० सालमा खुलेको यो विद्यालयमा पढाइरहेकी छन् ।
यो विद्यालयमा दुई स्थायी दरबन्दीमा शिक्षक छन्, एक जना राहत कोटामा । अनि दुई जना निजी स्रोतमा । निजी स्रोतका यी दुई जनामध्ये एक हुन्, पल्लवी । पल्लवी र अर्का एक शिक्षकलाई आवश्यक तलब नारायणी मोटर्सका नारायण धितालले दिन्छन्, मासिकरूपमा ।
‘हामीलाई न गाउँपालिकाले पैसा दिएको छ, न सरकारले स्थायी दरबन्दी नै थपेको छ,’ पल्लवीसँग कुरा हुनुभन्दा पहिले नै विद्यालयकी प्रधानाध्यापक पाण्डेले भनेकी थिइन् ।
अहिलेसम्म पाँच कक्षासम्मको मात्र पढाइ हुन्छ, यहाँ । आगामि शैक्षिक सत्रदेखि ६ कक्षाको पनि पढाइ गर्ने योजना रहेको छ, विद्यालयको । अहिले त्यहाँका विद्यार्थी कोही पाँच कक्षा पास भए पछि जानुपर्छ, मुग्लिङ ।
पल्लवीजस्ता शिक्षकको साथ पाए ज्ञानुले आफ्नै कार्यकालमा विद्यालयमा आठ कक्षासम्म पुर्याउने योजना बनाएकी छिन् । काँधमा दूधे बच्चा बोकेरै किन नहोस्, बालबालिकाको भविष्यबारे सोचिरहेकी पल्लवीजस्ता शिक्षक हुने हो भने के असम्भव होला र ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।