सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापार घाटा भने डरलाग्दो अवस्थामा पुगेको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब पुगेको छ । यस अवधिमा नेपालबाट एक खर्ब दुई अर्ब बराबरको निर्यात भए पनि आयात भने आठ खर्ब ३८ खर्ब रुपैयाँ बराबरको भएको छ ।
गत वर्षको तुलनामा यस अवधिमा आयात ५९ दशमलव ५५ प्रतिशत र निर्यात १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ । गत आवको मंसिरसम्ममा पाँच खर्ब २५ अर्ब ४९ करोडको आयात तथा ५० अर्ब पाँच करोडभन्दा धेरैको निर्यात भएको थियो ।
उच्च आयातका कारण मुलुकको शोधनान्तर घाटा उच्च हुनुका साथै वैदेशिक मुद्रा सञ्चिति पनि घट्दै गएको छ । उच्च आयातका कारण देशको भुक्तानी सन्तुलन नै बिग्रन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीलगायतका बहुमूल्य र सवारीसाधन, श्रृंगारलगायतका विलासी सामानको आयातमा निरुत्साहित गर्ने नीति लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।