पुटिनले भने- पश्चिमी देशले झूट बोले, रूस युक्रेनसामु झुक्दैन

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो विस्तारका क्रममा पश्चिमा राष्ट्रले रूससँग झुट बोलेको आरोप लगाएका छन् । हरेक वर्ष हुने आफ्नो वार्षिक पत्रकार सम्मेलनमा पुटिनले सुरक्षा प्रत्याभूतिको विषयमा अमेरिकासँगको वार्ता सकारात्मक रहेको पनि स्वीकार गरेका छन् ।

युक्रेनलाई लिएर रूस र पश्चिमी देशबीच विवाद चलिरहेको छ । रूसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेको पश्चिमी देशहरूको आरोप छ । साथै, यी देशहरूले रूसले युक्रेनमाथि आक्रमण गर्ने योजना बनाएको पनि बताएका छन् ।

एक प्रश्नको जवाफमा पुटिनले युक्रेनका तर्फबाट निम्त्याइएको खतराको रूसले जवाफ दिइरहेको बताए । उनले युक्रेनमाथिको कुनै पनि कारबाही अमेरिकासँगको वार्ता कसरी अगाडि बढ्छ भन्नेमा नभई देशको सुरक्षामा भर पर्ने स्पष्ट पारे ।

'हामीले युक्रेनमा के भइरहेको छ र उनीहरूले कहिले आक्रमण गर्न सक्छन् भन्ने कुरामा पनि नजर राख्नुपर्छ,' उनले भने, 'पूर्वी युक्रेनमा रूसी भाषी जनताको सुरक्षा नगर्न र यस मामिलामा हस्तक्षेप नगर्न रूसलाई चेतावनी दिइँदै छ, अन्यथा प्रतिबन्ध लगाइनेछ भनिएको छ, तर त्यस्तो अवस्थामा हामीले केही गर्नैपर्छ ।'

सुरक्षा प्रत्याभूतिबारे अमेरिकासँग वार्ता हुनेमा आशावादी देखिएका पुटिनले नयाँ वर्षमा वार्ता हुनसक्ने बताए । नेटोबारे पुटिनले जोड दिएर संगठन पूर्वमा विस्तार गर्न नहुने बताए । यस विषयमा रूसलाई मूर्ख बनाएको पनि पुटिनको भनाइ छ । उनले रूसले कसैलाई पनि चेतावनी नदिएको स्पष्ट पारे ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १८:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया