नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचन सकिएको छ । भर्खरै सकिएको मतदानमा १ हजार ८८१ मत खसेको छ ।
निर्वाचन संयोजक प्रह्लाद गौतमले मतदान सकिएको बताए । उनका अनुसार १ हजार ९३८ प्रतिनिधि रहेकोमा १ हजार ८८१ मत हालेका छन् । ५७ जना भने अनुपस्थित रहेका छन् ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहीबार बिहान करिब साढे ९ बजेदेखि सुरु भएको मतदानमा चारवटा बुथ राखिएको थियो । सर्लाही-रौतहट बुथमा ४८२ मत खसेको छ भने धनुषा-महोत्तरी बुथमा ४६६ जनाले मत हालेका छन् ।
त्यस्तै, बारा-पर्साको बुथमा ४६८ मत खस्दा सप्तरी-सिरहा ४६५ मत परेको छ । निर्वाचन संयोजक गौतमले एक घण्टा पछि बैठक बसेर मतगणना सुरु हुने जानकारी दिए ।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्णप्रसाद यादव र विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।