मदिराले कलेजाेमा के असर गर्छ ?

अल्कोहलले कलेजोमा के असर गर्छ ?
कलेजो शरीरभित्रको दोस्रो ठूलो अंग हो । कलेजोले शरीरमा ऊर्जा भण्डारण गर्ने, खाना पचाउने, विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । यसले शरीरमा पाँच सयभन्दा बढी फरक–फरक काम गर्छ । कलेजोले प्रोटिन, काब्र्रोहाइडेट र फ्याटलाई समेत पचाउने काम गर्छ ।

पछिल्लो समयमा कलेजोसम्बन्धी समस्या बढ्दो छ, जसको मुख्य कारण अल्कोहल हो । रक्सीले शरीरको कलेजो, मुटु, मस्तिष्क, आन्द्रा, खाना नली आदिलाई असर गर्छ । 

हामीले सेवन गरेको रक्सीले एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । रक्सीको लगातार सेवन गर्ने हो भने बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । 


सिरोसिस
यो कलेजो कडा हुने समस्या हो । लामो समयसम्म लगातार रक्सीको सेवन गर्ने व्यक्तिमा सिरोसिसको समस्या हुने गर्छ । सामान्यतया सिरोसिस दुई चरणमा हुने गर्छ । पहिलो चरणमा आँखा पहेँलो हुने, रगत बान्ता हुने, पेटमा पानी जम्मा हुने, बेहोस हुनु, मिर्गौलामा समस्या देखिनेजस्ता समस्या हुन्छन् ।

दोस्रो चरणमा पुग्दा कलेजो पूरै कडा भइसकेको हुन्छ । जसलाई मेडिकल भाषामा सिएलडी भनिन्छ । यो अवस्थामा पुगिसकेपछि कलेजो प्रत्यारोपणबाट मात्र उपचार सम्भव हुन्छ ।
क्यान्सर
लामो समयसम्म अल्कोहल सेवन गर्ने व्यक्तिमा कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ । सुरुको अवस्थामा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तर, कलेजोमा क्यान्सर गम्भीर रूपमा भएमा उपचार सम्भव हुँदैन । 

फ्याटी लिभर
फ्याटी लिभर कलेजोमा देखिने सबैभन्दा सुरुको अवस्था हो । रक्सीको सेवन पूर्ण रूपमा छाडेमा कलेजो सामान्य रूपमा फर्किन सक्छ । कलेजोमा बोसो जमेको भिडियो एक्सरेबाट पत्ता लगाउन सकिन्छ ।



अल्कोहलिक हेपाटाइटिस 
फ्याटी लिभरको समस्या भइसकेपश्चात् पनि रक्सी खान नछाडेमा अल्कोहलिक हेपाइटाइटिसको समस्या हुने गर्छ । जन्डिस देखिने, खान मन नलाग्ने, दाहिने कोखा दुख्ने, ज्वरो आउने र कमजोर महसुस हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखापरे पनि रक्सीको सेवन बन्द नगरेमा जन्डिसको समस्या बल्झिँदै जाने गर्छ, जुन सिभियर अल्कोहलिक हेपाइटिस हो । यसपछि रगत एकदमै पातलो हुन्छ । झन्डै ५० प्रतिशत बिरामीको मृत्यु अल्कोहलिक हेपाटाइटिसकै कारण हुने गरेको छ । 



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार २२:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया