यी हुन् चुनाव जित्ने कांग्रेस शीर्षनेताका पत्नी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेताका पत्नी निर्वाचित भएर आएका छन् । 

पदाधिकारीमा युवाको दबदबमा रहेको नयाँ केन्द्रीय समितिमा शीर्ष नेताका पत्नीदेखि छोराछोरीसम्म प्रतिस्पर्धामा थिए । 

सुरुमा त सभापति शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाई समेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपालि केन्द्रीय सदस्यमा चुनाव लडिन् ।

खुला महिलातर्फ तीन नम्बरमा २५३६ मतसहित निर्वाचित भइन् । १५औँ महाधिवेशनमा आरजु महामन्त्रीमा उठ्दै देउवाको विरासत अगाडि बढाउने चर्चा कांग्रेसमा छ । 

दोस्रोमा गृहमन्त्री एवं सर्वाधिक तेस्रो मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित बालकृष्ण खाणकी पत्नीले पनि चुनावमा जित हासिल गरेकी छन् । महिला संघकी महासचिवसमेत रहेकी गृहमन्त्री पत्नी मञ्जु खाणले महिला खस आर्यतर्फ सर्वाधिक मत ल्याएर प्रथम स्थानमा निर्वाचित भइन् । 

यस्तै, कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काकी पत्नी शीला खड्का पनि भूगोलतर्फ लुम्बिनीबाट २६७३ मतसहित निर्वाचित भइन् । खुमबहादुरको निधनपछि शीला र उनका छोरा अनुराग कांग्रेसको राजनीतिमा होमिएका छन् । शीलालाई सभापति देउवाले यसअघि खुमबहादुरको निधनपछि केन्द्रीय सदस्य मनोनीत गरेका थिए । 



पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा २१३८ मतसहित विजयी भएका छन् । रामवरणकी भतिजी एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव भने पराजित भएकी छन् । 

कांग्रेसको पराजित हुने सूचीमा चर्चित नेताहरुसमेत रहेका छन् । विजयकुमार गच्छदार, महेश आचार्य, चन्द्र भण्डारी, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, गिरिजापुत्री सुजाता कोइराला, पूर्वमन्त्री हृदयराम थानीलगायतले पराजय बेहोरेका छन् । 



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार २२:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया