‘८३’मा किन छानिइन् दीपिका ?

आज शुक्रबारबाट कबिर खान निर्देशित स्पोर्टस् ड्रामा ‘८३’ रिलिज हुँदैछ । यो फिल्म सन् १९८२ को विश्वकप क्रिकेट भारतले जितेको विषयमा बनेको छ । बुधबार यो फिल्मको विशेष साे राखिएको थियो ।

यो साेमा फिल्ममा अभिनय गरेका कलाकार र सन् १९८३ मा विश्वकप क्रिकेट जितेका टिमका खेलाडी सहभागी थिए । फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन् ।

फिल्म हेरेपछि अभिनेत्री उर्मिला कोठारेले फिल्मको तारिफ गरेकी छन् । ‘८३ उत्कृष्ट फिल्म हो । वास्तविक जीवन र रिल जीवनको उत्कृष्ट संगम । कपिल देवको भूमिकामा रणवीरले राम्रो काम गरेका छन् । तारिफका लागि मसँग शब्द छैन । सबै अभिनेताहरू र अभिनेत्रीहरूले आफ्नो भूमिका निभाउनका लागि कुनै कसर बाँकी राखेका छैनन्’, उर्मिलाले ट्विट गरेकी छन् ।

फिल्मका निर्देशक कबिरले हालै एक अन्तरवार्तामा दीपिका पादुकोणको भूमिकाका बारेमा बोलेका थिए । फिल्ममा दीपिकाले कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिकामा अभिनय गरेकी छन्। 

सन् २०१८ मा विवाहपछि दीपिका र रणवीरले सँगै फिल्ममा अभिनय गरेका थिएनन् । विवाह पछि उनीहरूका लागि ‘८३’ पहिलो सहकार्य हो । कबिरले दीपिकालाई फिल्ममा अनुबन्धित गर्नु पछाडिको कारण रणवीरको पत्नी भएर नरहेको दाबी गरेका छन् ।

‘वास्तविक जीवनमा जोडी पहिलोपटक विवाहपछि सँगै पर्दामा देखिँदैछन् । दीपिकाको रणवीरसँग विवाह नभएको अवस्थामा पनि म यो भूमिकाका लागि दीपिकासँग कुरा गर्न जान्थेँ । दीपिका कमालकी अभिनेत्री हुन् । उनको उपस्थिति फिल्ममा जबरजस्त हुन्छ । रोमी देवको भूमिका स्क्रिनमा धेरै देखिँदैन । तर जति देखिन्छ, त्यो अहम छ । केही वर्ष पहिले मैले कपिल र रोमीलाई भेटेको थिएँ । त्यो बेला कपिल रोमीबिना अधुरो छन् जस्तो लागेको थियो । १९८३ सम्मको यात्रा रोमी बिना कपिलको अधुरो नै हुन्छ’, कबिरले भनेका छन् ।
 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ८:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया