उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइका लागि निःशुल्क बिजुली दिने योजना बनाएको बताएकी छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनगरी उनले मन्त्रालयले सिँचाइको बिजुली निःशुल्क गर्ने योजना बनाएको बताएकी हुन् ।
मन्त्री भुसालले नेपालमा आफ्नै बहुउद्देश्यीय आयोजना सम्पन्न हुँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाइमा खपत हुने बिजुली निःशुल्क दिन सक्ने स्थितिमा मन्त्रालयले योजनाअघि सारेको बताइन् ।
मन्त्री भुसालले सिँचाइका लागि नेपालका सबै मानव बस्तीमा निःशुल्क बिजुली दिँदा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने मोटरलाई दुरुत्साहित गरेर विद्युतीय साधनको प्रयोग हुने बताइन् ।
‘मन्त्रालयको र मेरो सोच के छ भने हामी सिँचाइको बिजुली निःशुल्क गर्ने भन्ने छ । हाम्रो आफ्नै बहुउद्देश्यीय आयोजनाहरु सम्पन्न हुँदैछन् । र जलविद्युत पनि प्राप्त गर्दैछौँ । त्यसलाई हाम्रै मन्त्रालय अन्तर्गतको नेपाल विद्युत प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाइमा खपत हुने बिजुली हामी निःशुल्क दिन सक्ने स्थितिमा छिट्टै पुग्दैछौँ,' उनले भनिन्, 'त्यसैले यो पुगेमा स्वतः नै कृषिको उत्पादन मात्रै नबढाएर रोजगार पनि बढाउँछ । खाद्यान्न आयात रोक्दा मात्रै पनि राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुन्छ भन्ने मान्यता हो । तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने मोटरलाई दुरुत्साहित गरेर विद्युतीयबाट गर्नुस् भन्ने उद्देश्य पनि हो ।’
मन्त्री भुसालले गत हप्ता बसेको बोर्डको बैठकले सय केबीएको ट्रान्सफर्मर आम जनतालाई र किसानले सहकारीमार्फत् निर्माण गर्ने कोल स्टोरेज, वा दुग्ध चिस्यान केन्द्र निर्माण गरेमा २०० केबीएसम्मको विद्युत निःशुल्क प्राधिकरणको तर्फबाट दिने निर्णय गरेको बताइन् । उनले नेपालको सबैभन्दा धेरै पैसा पेट्रोल र डिजेलमा बाहिरिरहेकोले विद्युतीय यातायातलाई बढावा दिनेगरी नीति बनाएको बताइन् । मन्त्री भुसालले निजी संघसंस्थाले मागेअनुसार चार्जिङ स्टेशन दिनेगरी विनियमावली बनाइरहेको बताइन् ।
'विद्युत प्राधिकरणले पहिले नै चार्जिङ स्टेशनको टेण्डर गरेर बन्ने प्रक्रियामा छन् । तर अहिले आइपुग्दा निजीले हरेक व्यक्तिले आफ्नो घरमा आफैँ विद्युतीय गाडी किन्छु, चार्ज गर्छु, भनेपनि वा व्यापारी वा संस्था जसले मागेपनि हामी चार्जिङ स्टेशन, उहाँहरुलाई पनि दिने गरेर विनियमावली बनाएका छौँ । अहिले विद्युतीय गाडीको माग यथास्थितीमा पनि बढेर गएको छ’ उनले भनिन् ।
मन्त्री भुसालले हेइजिङको कुरा विद्युत प्राधिकरणले पनि गर्नुपर्ने प्रश्तावलाई बंगाएर बाहिर ल्याइएको बताइन् । उनले हेइजिङ गराउनेले विद्युत सस्तोमा दिनुपर्छ वा फ्रि इनर्जी दिनुपर्ने र मात्रै विद्युत प्राधिकरणले हेइजिङमा काम गर्न सक्ने बताइन् । मन्त्री भुसालले हेइजिङको कार्यविधि बनिरहेको पनि स्पष्ट पारिन् । उनले बुढीगण्डकी जलविद्युत आयोजना अब धेरै नलम्बिने पनि बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।