पुलिससित बराबरी खेलेको फ्रेन्ड्सलाई रेलिगेसनको खतरा

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लब र फ्रेन्डस् क्लबबिच भएको खेल शून्य बराबरीमा सकिएको छ ।

खेलको १२ औँ मिनेटमा फ्रेन्डसले अग्रता लिने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हरि कठायतको पासमा नथालियन जुड गार्सियाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले विफल पारे ।

२९औं मिनेटमा सुमन लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा पुलिसको पनि अग्रता लिने अवसर खेर गयो  । तेज तामाङको फ्रिकिकमा मानबहादुर परियारले हेडरमार्फत उपलब्ध गराएको पासमा सुमनले गरेको प्रहार बाहिरिएको थियो ।

त्यसको तीन मिनेटपछि पुलिसले अवसर पाए पनि सौजन राईले प्रहार पोस्ट नजिकैबाट बाहिरियो । निरकुमार राईको पासमा फ्रेन्डसका गोलकिपर देव लिम्बु बिट भइसकेको अवस्थामा सौजनको प्रहार बाहिरिएको हो ।

४५औं मिनेटमा  मानबहादुर परियारको पासलाई रवि पासावानले गरेको प्रहार बारमा लागेर फर्कंदा पुलिस पुनः एक पटक निराश बन्यो ।

पुलिसले पहिलो हाफमा निरन्तर फ्रेन्ड्स क्लबमाथि दबाब बनाए पनि गोल भने गर्न सकेन । त्यस्तै, खेलको ५४ मिनेटमा सुमन लामाको प्रहार पोस्ट बाहिर गयो ।



दोस्रो हाफमा भने निरन्तर पुलिसमाथि दबाब राखेको फ्रेन्ड्स क्लबका जामोल एन्थोनी फ्रान्कोइसको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । त्यस्त‌ै, खेलको ७९औँ मिनेटमा सुमन लामाले गरेको प्रहार पोष्टको देब्रेतिरबाट बाहिरियो ।

दोस्रो हाफको ईन्जुरी टाइममा फ्रेन्ड्स क्लबका नथानियल जुड गार्सियाले गरेको प्रहार पुलिसका डिफेन्डरले विफल पारे ।



पुलिस ६ खेलमा ६ अंकसहित ८ औं स्थानमा छ भने समान खेलमा मात्र ३ अंक जोडेको फ्रेन्डस १४औं स्थानमा छ । योसँगै फ्रेन्ड्सलाई रेलिगेसनमा पर्ने खतरा बढेको छ ।

के भन्छन् प्रशिक्षक

पुलिसका प्रशिक्षक अनन्त थापा भन्छन्, 'म्याचमा हामीले आक्रमक खेल्यौं । डोमिनेट खेल्यौं तर अंक भने बटुल्न सकेनौं । फिनिसिङमा भएको समस्या सुधार्ने छौं ।'

फ्रेन्ड्सका प्रमुख प्रशिक्षक मृगेन्द्र मिश्र भन्छन्, 'जित्नु पर्ने खेल बराबरी भयो । अन्त्यमा हामीले पाएको पेनाल्टी रेफ्रीले दिएनन् । रेफ्रीको प्रयोगशाला भयो मैदान । यस्तो रेफ्रीले खेलाएर हुँदैन । अबका हरेक खेलमा दबाब हुनेछ । टपमा जानुभन्दा पनि रेलिगेसनबाट जोगिनु छ । हरेक टोलीसँग गम्भीरता साथ खेल्नुपर्छ ।'

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १९:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया