हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित
फरकधार / ९ पुस, २०७८

ताप्लेजुङका विभिन्न हिमाली बस्तीमा हिमपात पर्न सुरु भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित हुन पुगेको हो ।



घुन्सा क्षेत्रमा बुधबारदेखिनै सामान्य रुपमा हिमपात हुन सुरुभए पनि शुक्रबार भने निकै बाक्लो हिमपात पार्न थालेको घुन्साका स्थानीय पेमा शेर्पाले बताए । उनले भने, 'अहिले पनि हिउँ परिराछ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको  छ ।' हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताए ।

हिमपात पर्न सुरुभएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । उनले भने, 'चिसोले केटाकेटीहरूको  हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैन । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हुँदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।'



हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रका प्रमुख पुर्खौली पेसाको रूपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताए । 



त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुगोला र  चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि हिमपात भइरहेको स्थानीय तेन्जी शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका—६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका—६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए । 

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए ।  सामान्य हिमपात मात्र भएकाले तीर्थ यात्रीहरू भने पाथीभरा मन्दिरमा पूजा पाठ गर्न जाने क्रम जारी रहेको काफ्लेले बताए । शुक्रबार ३०० जना भक्तजनले पाथीभरा मन्दिरमा पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार २१:२:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया