धुर्मुस-सुन्तलीको वियोगान्त रंगशाला यात्रा : चन्दा उठाएर समाजसेवा कि ठगी ?
युवराज सेढाईं
फरकधार / १० पुस, २०७८

कलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको फाउन्डेसन धुर्मुस-सुन्तली फाउन्डेसनले पछिल्लो समय बनाइरहेको र अति प्रचारित गौतम बुद्ध क्रिकेट रंगशालाको भविष्य अब के भन्ने प्रश्न उठ्न थालेको छ । यो फाउन्डेसनले निर्माणबाट हात उठाएपछि प्रमाणित भएको छ, यो एउटा फेल्ड प्रोजेक्ट हो । 



नेपालमा असफल र फेलियर भएका प्रोजेक्टको सूचीमा अब यो रंगशालाको प्रोजेक्ट सूचीकृत भएको छ । मानौँ, अहिले धुर्मुस र सुन्तलीको यो फाउन्डेसनले यो प्रोजेक्टबाट हात निकालेको थिएन । अनि सोचौँ, के यो नेपाली परिवेशमा फिजिबल थियो ? यसको प्रस्ताव र सम्भाव्यताको सुक्ष्म विश्लेषण यसअघि गरिएको थियो कि थिएन ?

यी प्रश्नहरुको जवाफ यो फाउन्डेसनले अहिलेसम्म दिएको छैन । कुन भावावेशमा आएर रंगशाला बनाउने भनियो र चन्दा उठाएपछि हामीले सकेनौँ भनेर यो फ्याट्ट बन्द गर्न खोज्दा फाउन्डेसनका लागि मसँग एउटा मुख्य प्रश्न छ– यसअघि यो रंगशालाले अपरेसनका लागि वा मर्मतसम्भारका लागि मात्रै चाहिने ३ करोडभन्दा बढी पैसा वार्षिक कहाँबाट ल्याउने सोचेको थियो ?



यसका लागि केही सन्दर्भमाथि पहिले चर्चा गरौँ । आइसिसी स्पोन्सर्ड खेलको हकमा अर्कै कुरा, नेपालले अति न्यून संख्यामा घरेलु क्रिकेट खेलिरहेको छ । अनि नेपालमा क्रिकेटका समर्थक कति छन् होला जसले नेपालले घरेलु प्रतियोगितामा टी २० वा एक दिवसीय खेल खेल्दा हेर्न जाने दर्शक कति होलान् ? एक पटक यस्तै सन्दर्भमा कुरा उठेको थियो, नेपाल भारत र पाकिस्तानबीचको खेलका लागि न्यूट्रल भेन्यू पनि त बन्न सक्छ । एक पटक गम्भीर भएर सोच्ने हो भने यसका लागि जवाफ चलनचल्तीको भाषामा आउँछ– गफै त हो सम्धी ।



फेरि विश्वका केही उदाहरणहरूको पनि समीक्षा गरौँ । सन् २०१४ को विश्वकपका लागि ब्राजिलमा निकै धेरै रंगशालाहरू बने । ७ वर्षपछि ती रंगशालाको अवस्था के छ ? समाचारहरुमा आइरहेको छ– त्यति बेला बनेका रंगशाला अहिले खण्डहर भएका छन् ।

छिमेकी देश भारत जहाँ क्रिकेटको ठूलो क्रेज छ, त्यहाँबाट पनि रंगशालाको कुरामा हामीले केही सिक्नु पर्ने हुन्छ । त्यहाँ बिसिसिआइले गर्ने वित्तीय व्यवस्थापनको आइपिएल पनि त जुन पायो त्यही रंगशालामा खेलाइँदैन । त्यहाँका बी क्लासका भनेर चिनिने राजकोट, कानपुरजस्ता पुराना रंगशालाहरूको अवस्था अहिले कस्तो छ ? उनीहरु कुन आर्थिक संकटबाट गुज्रिरहेका छन् ? के यी र यस्ता प्रश्नहरूसँग धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउनुभन्दा अगाडि पनि छलफल गरेको थियो ? थियो भने के के आधारमा यो फाउन्डेसनले चन्दा उठाउन थाल्यो, जग्गा लिएर रंगशाला निर्माण सुरुवात गर्यो ? यो प्रश्नको जवाफ अहिले रंगशाला निर्माणबाट हात झिक्दा यो फाउन्डेसनले दिनु पर्दैन ?

अहिले नेपालमा क्रिकेट रंगशालाको प्राथमिक आवश्यकता हो कि अरु केही हो भन्ने विषयमा पनि विमर्श गर्न नसकिने होइन । अनि रंगशाला चाहिएकै भए कहाँ र कस्ता रंगशाला भन्ने पनि ख्याल गर्नु पर्ने हुन्छ । नेपालमा यो फाउन्डेसनले बनाउन लागेको जस्तो ठूला कंक्रिट रंगशाला नै चाहिने हो या इकोफ्रेन्ड्ली ग्रास इम्ब्याङ्कमेन्ट पनि प्रयोग गर्न सकिने थियो ?

क्रिकेटका ‘बादशाह’ भन्दा फरक नपर्ने दक्षिण अफ्रिका, न्युजिल्यान्डजस्ता देशहरुमा त अहिले पनि थुप्रै मैदान ग्रास इम्ब्याङ्कमेन्ट छन् । तर, नेपालमा ठूलो रंगशाला बनाउने मोहमा धुर्मुस सुन्तलीले फाउन्डेसनलाई अगाडि ल्याए, चन्दा संकलन गर्न थाले । त्यसो त सन् २०१८ मा नेपालले एक दिवसीय मान्यता पाएपछि यहाँ रंगशालाको विषयमा निकै ठूलो हल्लीखल्ली भयो ।

कतिसम्म भने नेपालका एक मात्र डलर खर्बपति विनोद चौधरीलेसमेत लुनकरण दास क्रिकेट स्टेडियम बनाउने निर्णय गरेको दाबी गरेका थिए । तर, यसको मोडल के हुने, कहाँ बन्ने, कहिले बन्ने, कत्रो बन्ने भन्नेबारे चौधरी ग्रुपले अहिलेसम्म खुलाएको छैन । जे होस्, सस्तो चर्चा र लोकप्रियताका लागि चौधरी ग्रुपले पनि यो विषयमा त्यति बेला घोषणा गरिहालेको चाहिँ थियो ।

अब विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्तीमा मल्हम लगाएको देखिएको थियो, धुर्मुस र सुन्तलीले । बस्तीमा नै मल्हम लगाउन सक्ने यो जोडीले क्रिकेट रंगशाला पनि बनाइहाल्छ भनेर सोचिनु अन्यथा पक्कै थिएन । त्यसमाथि उनीहरुको घोषणामा देशका विभिन्न नेताहरुले समेत प्रतिस्पर्धा गरे ।

अन्ततः भरतपुरको रामपुरमा रहेको कृषि विश्वविद्यालयको जमिनमा यसको संरचना बनाइने भयो, भरतपुरकी मेयर रेणु दाहालले विश्वविद्यालयको जमिन ‘हडप्न’ पाउँदा निकै गर्वका अभिव्यक्तिसमेत दिइन् । हो, त्यति बेला विश्वविद्यालयको जग्गा रंगशालालाई दिँदा केही सैद्धान्तिक प्रश्न उठेका थिए, बहस भएको थियो । 

अब अहिले विश्वविद्यालयको जग्गामा बनिरहेको क्रिकेट स्टेडियमको काम कति सकियो, कसरी कति बनाइयो, कस्ता सामान प्रयोग गरिएको छ, गुणस्तर के छ भन्ने विषयमा सायदै कसैलाई थाहा छ, फाउन्डेसनले त हात झिकिदियो ।

भनिएको छ, ३ अर्ब ५४ करोड यो रंगशालाको अनुमानित लागत हो । अहिलेसम्म ५४ करोड नगद र १६ करोड ऋणमा ३५ प्रतिशत काम सकिएको पनि दाबी गरिएको छ । तर, यसको आर्थिक आयव्ययको लेखा परीक्षण, निर्माण पूर्वाधारको अवस्थाबारे आम मानिसलाई जानकारी दिनुपर्छ भन्ने धुर्मुस सुन्तली फाउन्डेसनले सोचेको छैन । 

हो, यो जवाफ दिनु आवश्यक थिएन होला यदि यो रंगशालाका लागि धुर्मुस सुन्तलीले खाडी मुलुकमा गएका नेपाली दाजुभाइसँग पैसा लिएका थिएनन् भने, चितवनका विद्यार्थी, अभिभावक, शिक्षक र टोलटोलका आमाबा समूहहरुलाई श्रमदान भनेर रंगशालामा काम गर्न लगाएका थिएनन् भने । अनि नमूना बस्ती बनाउँछु भन्दै प्रपोजल राखेका थिएनन् भने ।

मसँग धुर्मुस सुन्तली र उनीहरुको फाउन्डेसनका लागि एउटा प्रश्न छ– नमूना बस्ती, नमूना स्टेडियम बनाउँछु भनेर लागिरहँदा नमूना भनेको के हो ? के यो नेपालको इथ्निसिटीसँग पनि जोडिएको हुन्छ कि सिंगापुरको कुनै सहरजस्तो बनाउन नेपाली आशा र चाहनालाई मात्र फ्यूजन गरेर अनुदान र चन्दा मात्र मागिन्छ ?

यो रंगशाला निर्माणअघि धुर्मुस सुन्तलीले ललितपुरको लेलेमा भएको ३ हजार रोपनीमा फैलिएको वन क्षेत्र मागेका थिए । यसमा उनीहरुले जे गर्ने भनेका थिए, यो फेल्ड प्रोजेक्टले शिक्षा दिएको छ, उनीहरुले जग्गा नपाएर ठिकै भएको रहेछ ।

हिजो कलाकारितामा थिए, धुर्मुस सुन्तली । उनीहरुको कलाकारिता कस्तो र कुन हैसियतको थियो भन्नेबारे फरक प्रशंगमा चर्चा गर्न सकिएला । तर, के नेपालमा क्राउड फन्डिङबाट पैसा जोहो गरेर जसले पनि समाजसेवी बन्ने आकांक्षा राख्नु ठिक हो ? त्यही कलाकारितामा हुँदाको अनुहार प्रयोग गरेर धुर्मुस र सुन्तलीले गरि खाने समूहसँग चन्दा लियो । अनेक प्रपन्च रचिए, अनेक लोभ र ब्रान्डिङका कुरा भनियो । अनि अहिले आएर रंगशालाको निर्माण रोकियो ।

मिडियाबाजीको भरमा, चन्दा उठाएर धुर्मुस सुन्तलीले जे गर्न खोजे, जे भ्रम गर्न खोजे, यसले एउटा गम्भीर प्रश्न उठाएको छ । बनिरहेको रंगशालाको आयव्यय विवरण त सार्वजनिक गरिएन, के यही समयमा धुर्मुस सुन्तलीको सम्पत्तिको छानबिन पनि हुनु पर्ने हो ? कि चन्दा उठाएर समाजसेवा गरेको भरमा जसले जे गर्दा पनि छुट छ ? के अब पनि देशमा ‘छोटे समाजसेवी’को उदयलाई प्रश्रय दिइरहने हो कि विकास र अग्रगामी मोडलमा नयाँ केही सोच्न जरुरी छ ?

(सेढाईं हाल अमेरिकामा बस्छन् ।)

यो पनि पढ्नुहोस्

क्रिकेट रंगशाला निर्माणबाट यसकारण पछि हट्यो धुर्मुस सुन्तली फाउन्डेसन

  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १४:१९:४२,   अन्तिम अपडेट : पुस १०, २०७८ शनिबार १४:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया