बिपीले ४० वर्षअघि लेखेको चिठी चर्चामा यसरी आयो
फरकधार / ११ पुस, २०७८

कांग्रेसको संस्थापक नेता बिपी कोइरालाले लेखेको एउटा चिठी एकाएक चर्चाको शिखरमा छ । बिपीले त्यो चिठी ३ पुस, २०३८ मा भाइ केशवप्रसाद कोइराला ‘कोसु’ को नाममा लेखेका हुन्। 



उनै कोसुका छोरा डा. शेखर कोइरालाले भाइबहिनी (डा. शशांक र सुजाता) ले चिठीको मर्म नबुझेको बताएपछि ठीक ४० वर्षपछि त्यो चिठी एकाएक चर्चामा आएको हो । चिठी लेखेको ठेगाना टाटा मेमोरियल अस्पताल भारत हो ।

कांग्रेस सभापतिमा शेखर कोइराला पराजितपछि उनले चिठीमा बिपीले लेखेअनुसार एकता नभएको बताएका छन् । उनको पराजय प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवासँग २८ मंसिरमा भएको हो ।



बिपीले लेखेको चिठीको अंश यस्तो छ, ‘...मेरा भाइहरूको ठूलो मद्दतले मैले केही गर्न सकेँ । कोइरालाहरूको केन्द्रभूमि पिताजीको कार्यक्षेत्र विराटनगरमा हाम्रो अस्तित्त्वको रक्षा तिमीबाट भएको छ । हाम्रो सेखपछि छोराहरूले एकदम एकता राखेर पिताजीको कीर्तिलाई कायम राख्नेछन् ।’



डा. शेखरले बिपीको यही चिठीको भाव डा. शशांक र सुजाताले नबुझेको बताउँदै आएका छन्। जहाँ बिपीले एकताको कुरा गरेका छन् । त्यही कुरा बुझेको भए सभापतिमा खुलेर सहयोग डा. शशांक र सुजाताबाट हुने उनको ठम्याइ छ । 

शशांक चिठी लेख्ने बिपीका छोरा हुन् । सुजाता कोसुका भाइ गिरिजाप्रसादकी छोरी । दाजुभाइका यी छोराछोरीबीच यसपटक कांग्रेस महाधिवेशनमा सहकार्य भएन । हार्दिकतापूर्ण राजनीतिक सम्बन्ध भएन । तीन जना तीनतिरै फर्केका छन् ।

आपसी एकता कायम भएन । हुन त महाधिवेशनको एक साताअघि भने उनीहरूबीच ‘लन्च मिटिङ’ भएको थियो । एकले अर्कालाई सहयोग गर्ने भन्ने कुरामा मिटिङ केन्द्रित थियो । तर, केही सहमति जुटेन । त्यसपछि शशांक संखुवासभा हिँडे । त्यसयता तीनजनाबीच भेटघाटसम्म भएन । 

परिणामतः उनीहरूमध्ये डा. शेखर सभापतिमा उम्मेदवार बने । चुनावी माहोलमा जुटे । सुजाता डा. शेखरको टिममा रहिनन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको टिममा पुगिन् र उपसभातिको उम्मेदवार बनिन् । शशांक भने तटस्थ जसरी बसे । न शेखरलाई मत मागिदिए न सुजातालाई नै। 

विश्लेषकहरूका अनुसार डा. शशांकको तटस्थ बसाइको सिधा फाइदा देउवालाई भएको तर्क छ। डा. शेखरको पनि ठम्याइ यही हो । 

‘निर्वाचनमा हार जित हुन्छ । हारबाट मानिसले सिक्नुपर्छ र मैले पनि धेरै कुरा सिकेँ’, कोइराला समाजको नवौं महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै डा. शेखरले भने, ‘एउटा कुरा त मैले के सिकेँ भने परिवारका अग्रजहरूले परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले चाहिँ भोलि राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने उहाँहरूको भनाइ सत्य जस्तै लाग्यो मलाई ।’

यो अभिव्यक्तिबाटै प्रष्ट के हुन्छ भने डा. शशांक र सुजाताले सहयोग नगरेको डा. शेखरको बुझाइ छ । उनले गुनासोसहित प्रश्न गरेका छन्, ‘शशांकजीले किन पत्रकार सम्मेलन गरेर मत दिनुहोस् भन्न सक्नु भएन ?’, 

१३ औं महाधिवेशनमा डा. शेखर महामन्त्रीमा उठ्न चाहेका थिए । त्यसबेला डा. शशांक पनि पछि नहट्ने भए । कोइराला परिवारका दुई जना प्रतिस्पर्धामा रहँदा राम्रो सन्देश नजाने र जित्न मुस्किल हुने बुझाइका आधारमा डा. शेखर पछि हटे । शशांकका लागि मैदान छाडिदिए । 

अन्ततः संस्थापनइतर पक्षबाट सभापति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेल हार्दा पनि शशांकले जिते । यसरी प्रतिस्पर्धाको मैदान छाडेर सहयोग गर्दा आफूलाई भने शशांकले सहयोग नगरेको गुनासो शेखरको हो । 

सुजाताले पनि अर्को टिममा गएर असहयोग गरेको बुझाइ छ । यसो भएपछि डा. शेखरले ४० वर्षअघि डा. शशांकको बुबा बिपीले टाटा मेमोरियल अस्पताल भारतबाट आफ्ना बुबा कोसुलाई लेखेको चिठी सम्झिएका हुन् ।

चिठीमा एकता भनिए पनि छोराछोरीहरूबीच भने अनेकता छ । जसका कारण उनीहरूमध्ये डा. शेखर र सुजाता दुवैले पराजय बेहोरे । १३औं महाधिवेशनबाट डा. शशांक महामन्त्री हुँदा डा. शेखर र सुजाता केन्द्रीय सदस्य थिए ।

कांग्रेस स्थापना भएको ७५ वर्ष हुँदा पार्टीको ४९ वर्षसम्म नेतृत्व कोइराला परिवारका चार सदस्यले गरेका थिए । उनीहरू हुन्- बिपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइराला । 
यसपटक डा. शेखरले नेतृत्व गर्न खोजेका थिए । तर, जित भएन ।

फेरि, उनले नारा एकैपटक, यसैपटक राखेका थिए । भनेअनुसार उनी अडिग रहेको खण्डमा अर्कोपटक सभापति पदमा निर्वाचन लड्दैनन् ।

शशांकको भने सम्भावना छ । उनी तटस्थ बस्नुलाई १५औं महाधिवेशनमा सभापति पदको उम्मेदवार संस्थापन पक्षबाट हुन लागेको अर्थमा कतिपयले लिएका छन् । सुजाताबारे भने यसै भन्न सकिन्न । त्यसबेला पनि बिपीले चिठीमा लेखेअनुसार एकता हुने कि नहुने भन्ने अहिले नै निर्क्याैल गर्ने अवस्था छैन । 

चिठी :

  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १४:२९:३४,   अन्तिम अपडेट : पुस ११, २०७८ आइतबार १४:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया