नेपाली कम्युनिस्ट आन्दोलनले टाल्न नसकेका भ्वाङ

मैले सुन्ने गरेको छु । तपाईंहरूले पनि अवश्य सुनेको हुनुपर्छ- हिजोआज जताततै जनताले भन्ने गर्छन्, ‘हामीले पटकपटक व्यवस्था बदलेयौँ तर हाम्रो अवस्था बदलिन सकेन ।’

मैले यसलाई हामी जो समय समयमा व्यवस्था परिवर्तनको बाहक बन्यौँ, हामीहरूप्रतिको यस असन्तुष्टिको रूपमा र जनताको जवाफको रूपमा बुझेको छु, लिएको छु । किन यस्तो गर्यो ? किन यस्तो भयो भनि आक्रोशित नजरका साथ निर्दोष जनताले झम्टिरहेको जस्तो मानेको छु ।

मलाई कहिले लाग्छ – इतिहासले विगतका हाम्रा आन्दोलनलाई नेपाली जनताको स्वतन्त्र तथा इमान राष्ट्रिय जनवादी आमूल परिवर्तन निम्तिको प्रयोगशालामा मात्र दर्ता गरिदिने त होइन ? नेपाली राजनीतिक इतिहासको १० वर्षे कालखण्डबाट गुज्रिँदै एउटा विश्व चर्चित आन्दोलनबाट आएको यस पार्टीको यस महाधिवेशनले जनताका यस्ता असन्तोष तथा जवाफ र इतिहासको सम्भावित फैसलालाई अवश्य सम्बोधन गर्नेछ । यसो भनेर मैले किन आशा नगरूँ ?

आयोजक नेतागण, उत्सुक सहभागी तथा मित्रहरू, मैले ठूल्ठूला प्रश्न आयोजक नेतागणका अघि उभिएको देखिरहेको छु । तिनको सही जवाफ समीक्षाबाट र तथ्यबाट सत्य खोज्ने माध्यमबाट ननिकाल्ने हो भने देशमा एकखाले अन्योल कायमै रहन्छ ।

एउटा लक्ष्य प्राप्तिको निम्ति सुरु गरिएको एउटा आन्दोलन, जसको निम्ति राष्ट्र र जनताले अकुत बलिदान गरेका छन्, अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको छ । तब नमेटिने गरी जिज्ञासा उठेका छन् । किन ? किन त्यो तत्कालीक लक्ष्य प्राप्त भएन ? त्यो घोषित लक्ष्यलाई कसले अपहरण गर्यो ? अथवा के त्यो लक्ष्य लिनु नै समय सापेक्ष थिएन ? समयले जवाफ खोजिरहेको छ । जिम्मेवार राजनीतिक पार्टीले आफूपट्टि उभिएका यस्ता प्रश्नबाट मुख मोडिरहन सक्छ र ?

मार्क्सवाद उत्पीडित जनता र उत्पीडित राष्ट्रहरूको पक्षधर सर्वहारा वर्गीय विज्ञानसम्मत् सिद्धान्त भनि विश्वभर ख्यातीप्राप्त छ । विश्वमा उत्पीडक शासकहरूद्वारा सञ्चालित राष्ट्रहरू पनि छन् । यस्ता शासकहरूबाट सञ्चालित राष्ट्रको प्रत्यक्ष संलग्नतामा सञ्चालित आन्दोलनले उत्पीडित राष्ट्रलाई स्वतन्त्र र मुक्ति दिन सक्दैन भन्ने मार्क्र्सवादी मान्यताविपरीत आचरण गर्ने राजनीतिक शक्तिले कसरी आफूलाई २४ क्यारेट मार्क्सवादी हो भनेर दाबीलाई प्रमाणित गरिरहन सक्छ ? यस्तो आरोपलाई जिम्मेवार आयोजक नेता मित्रहरूले पार्टीको यस आठौँ महाधिवेशनमार्फत् समाधान गर्नुहुने छ भनेर मैले किन आशा नगरूँ ?



कुनै पनि सर्वव्यापी सिद्धान्तलाई कुनै पनि देश विशेषमा त्यसका वस्तुस्थिति र विशेषता अनुकूल मात्र लागू गर्न सकिन्छ । यो कुरा मार्क्सवाद र नेपालबारे पनि लागू हुन्छ । नेपालमा मार्क्सवादलाई नेपाली जनताको राष्ट्रिय जनवादी सत्ता निम्तिको आन्दोलनमा संगठित ढंगले एकाकार गर्न खोजिएको ७२ वर्ष पुगिसकेको छ । तर, पनि यस प्रयत्नमा कहीँकतै ठूल्ठूला भ्वाङ भएको प्रतीत भइरहेको छ ।

हाम्रो आफ्नै राष्ट्रिय जनवादी क्रान्ति सम्पादन गर्ने बाटो कुन हो ? जति राजनीतिक आन्दोलन गरे पनि जनताका अधिकार जति बढाए जस्तो लागे पनि किन हामीलाई झनझन आन्तरिक गोलमाल र बाह्य चक्रव्यूहमा फसिरहेको अनुभव भइरहेको छ ? के साँच्चै हामी हाम्रा अन्तर्राष्ट्रिय गुरूहरूका यस्ता शिक्षा र अनुभवहरूलाई नेपालको वस्तुस्थिति र विशेषताअनुरूप सटिक ढंगले लागू गरिरहेका छौँ ? आफूलाई विशिष्ट आन्दोलनबाट खारिएका साहसी, नवपरिवर्तनकारी नेता भएको महसुस गर्ने आयोजक नेता मित्रहरूबाट यसै महाधिवेशनमा पनि उपरोक्त प्रश्नहरूलाई सम्बोधन गर्ने प्रयत्न हुनेछ भनि मैले किन आशा नगरूँ ?



अन्त्यमा, नेपाली कम्युनिस्ट आन्दोलनका विविध पक्षका विवरण प्रस्तुत गर्नुभन्दा पनि माथि उल्लेखित प्रश्नहरूको सही जवाफ खोज्नुपट्टि लाग्नु नै आजको प्रमुख दायित्त्व भन्ने मलाई लाग्दछ । यस्ता प्रश्नहरूको जवाफ खोज्न (नेकपा माओवादी केन्द्र) को यो आठौँ राष्ट्रिय महाधिवेशन सफलताको साथ सम्पन्न होस् भन्ने म पुनः कामना गर्न चाहन्छु ।

नेकपा मालेका महासचिव मैनालीले नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा गरेको सम्बोधन

  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १७:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया