अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्यमान्यता विपरित भएको बताएका छन् । आफूहरू महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको बताएका हुन् ।
‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौँ, जहाँ महिलाले पनि पढ्न सक्नेछन् । महिलाहरूले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उनले भने । तर, छात्राहरूलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् ।
गत १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि छात्राहरूलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाहरूका विभिन्न हक अधिकार खोसिएका छन् ।
तालिबानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ति जनाएकी छिन् । ‘तालिवानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उनले भनिन् ।
यसैबीच, लामो दूरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नातेदार हुनुपर्ने तालिबानले जनाएको छ । पुरुष आफन्तबिना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिबानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।