हिउँले सेताम्य हुम्ला (फोटो फिचर)

उच्च हिमाली जिल्ला हुम्लामा सोमबार बिहानैबाट हिमपात भइरहेको छ । सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा चिसो बढेको छ ।

लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुकाका स्थानीय लाप्का लामाले जानकारी दिए । 

उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।

हिमपातले किसान खुसी

लामो समयको खडेरीपछि परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँ बाली उम्रन नसक्दा चिन्तामा रहेका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाडका स्थानीय हिमपातसँगै खुसी भएका हुन् ।



हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकसमेत राहत भएको अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएको हो । आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिएर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । –न्युज कारखाना 



  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १०:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया