कैलालीकाे सदरकुमाक धनगढीमा ‘विद्युतीय कार’ बनाउने विद्यार्थीहरूलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन् ।
विद्युतीय कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही ‘फण्ड’ जुटाएर पुनः अरू इलेक्ट्रिक सामग्री निर्माण गर्ने उनीहरूको चाहना बमोजिम बाेहराले सोमबार ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले ‘विद्युतीय कार’ निर्माण गरेको र उनीहरूलाई पुनः केही रकम आवश्यक परेको खबर थाहा पाएपछि आफ्नो मनमा सहयोग गर्ने सोच पलाएको उनले बताए ।
उनले भने, ‘उनीहरूले विद्युतीय कार निर्माणका क्रममा भएको खर्च व्यवस्थापन गर्न असहज भएको र फेरि फण्ड जम्मा गरेर पुनः अन्य सामग्री निर्माण गर्ने भनेको थाहा पाएपछि सानो सहयोग गरेको हुँ ।’
सोमबार दिउँसो बाेहराले विद्युतीय कार निर्माण गर्ने ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीको टोलीलाई संयुक्त रूपमा नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
विद्युतीय कार निर्माणपश्चात् पहिलो पटक यसरी बाहिरबाट सहयोग प्राप्त भएको बताउँदै ऋषिकेश थापाले भने, ‘हामीलाई यसरी पहिलोपटक सहयोग भएको छ, यो सहयोगले अझ केही गर्ने हौसला थपिएको छ ।’
‘जता जान्छ यो बोगटानी उतै रमझम’, ‘तेरी मेरी बर्याँत बाजा बजन्ना’ लगायतका दर्जन बढी गीत गाइसकेका बाेहराले दुई दर्जन बढी थारु तथा डेउडा र आधुनिक गीतमा अभिनय समेत गरिसकेका छन् । उनको ठूलो पर्दाको डोटेली भाषाको दोस्रो चलचित्र ‘नन्दी’ छायाङ्कनपश्चात् प्रदर्शनीको तयारीमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।