कुर्मी र धाेबी हत्या प्रकरणकाे सत्यतथ्य बाहिर नआउनुले राज्यकाे मिलेमताे भएकाे आशंका : भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन् ।

आज (सोमबार) निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनसनमा बसेकाहरूलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरे । 

आजसम्म घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको उनकाे भनाइ छ ।

सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने कुरामा उनले जाेड दिए ।

उनले भने, ‘शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो । यो घटनाको न्यायपूर्ण छानविन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि राज्यकै मिलेमतोमा यो भइरहेको छ कि अथवा जो अपराधीहरू छन्, तिनीहरूले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ । अपराधीलाई कारबाही गर्नुपर्‍याे । ठूलै पहुँचवाला मान्छेहरू छन् र तिनीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भीर गल्ती हुन्छ ।’

विधवा महिला निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानविन समितिले पेस गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् ।



महिला अधिकारकर्मी रुबी खानले आफूहरू महिनौंदेखि न्यायका लागि धर्ना बसेको भए पनि सरकार आफूहरूको मागमा संवेदनशील नभएको बताइन् । उनले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको आराेप लगाइन् ।

माग पूरा नहुञ्जेल धर्नाको कार्यक्रम जारी रहने अधिकारकर्मीहरूकाे भनाइ छ ।
 



  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १६:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया