कैदी फरार प्रकरण : घोराहीका कारागार प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

दाङ प्रहरीले घोराही कारागारका प्रमुख युवराज परियारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । कारागारका कैदी भगाउन भूमिका खेलेको आरोपमा परियारलाई पक्राउ पुर्जी जारी गरिएको हो । दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले अनुसन्धानलाई कडाइका रूपमा लिइएको र केही व्यक्तिलाई नियन्त्रणमै लिएर अनुसन्धान थालिएको बताए । 

उनले कारागार प्रमुख परियार पनि अनुसन्धानको घेरामा रहेको बताए । दाङ प्रहरी प्रवक्ता, डिएसपी मुकुन्द रिजालको अनुसन्धान टोलीले कारागार प्रमुख परियारलाई अनुसन्धानको घेरामा राखेको छ । यसका साथै दुई जना युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेर कैदी घटनाबारे छानबिन गरिरहेको छ । 

कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा तानिएका जेलर परियारलाई प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गरेको जनाएको छ । कारागार प्रमुख (जेलर) परियारको समेत उक्त घटनामा मिलेमतोको आशंकापछि उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीको भनाइ छ । जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए ।

प्रेमिका हत्या अभियोगमा जन्मकैदको फैसला भोगिरहेको यामराज परियार बिहीबार बिहान कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीसँगै अस्पताल गएका थिए । उनले सात वर्ष कैद भोगिसकेका थिए । आफ्नै मोटरसाइकलबाट कारागारका नाइके यामराज परियारलाई चौधरीले उपचार गर्न लगेका थिए । त्यसपछि एउटा रेस्टुरेन्टमा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएको भनिएको छ । 

उनी घोराही कारागारका नाइके पनि हुन् । नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न दुई युवती र अन्य एकजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केहीमाथिको जंगलमा फेला परेको थियो । तुलसीपुर कारागारका जेलर अमर बहादुर वलीलाई अहिले परियारको जिम्मेवारी मुक्त गरेर घोराही कारागारको जिम्मेवारी तोकिएको छ ।





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १९:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया