अब अगाडि बढ्ला धनगढी विमानस्थल स्तरोन्नतिको काम?

फेरि एकपटक कैलालीको धनगढी विमानस्थल स्तरोन्नतिको विषयले चर्चा पाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले १ अर्ब १५ करोड बजेट विनियोजन गरेपछि धनगढी विमानस्थल स्तरोन्नतिको विषयले चर्चा पाएको हो । साथै, मन्त्रालयले सुदूरपश्चिमका अन्य विमानस्थलका लागि पनि बजेट छुट्याएको छ ।   

दुुई वर्षअघि नागरिक उड्यन मन्त्रालयकै सहभागितामा धनगढीमा २० वर्षीय गुरुयोजना सार्वजनिक भएको थियो । तर, विमानस्थलको काम भने एक प्रतिशत पनि अगाडि बढ्न सकेको छैन ।  

काठमाडौंको रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्सीले दुई वर्षअघि धनगढी विमानस्थल स्तरोन्नति लागि २२ अर्ब लगानी प्रस्ताव गर्दै गुरुयोजना तयार पारेर नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो । गुरुयोजनाअनुसार विमानस्थलको स्तरोन्नतिका लागि २ सय ९७ बिघा जग्गा आवश्यक पर्नेछ । हाल विमानस्थलसँग ७० बिघा जग्गा मात्र छ । 

धनगढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग रहेको विमानस्थल हो । अहिले कायम रहेको १८ सय मिटरको धावनमार्गलाई थप लम्बाइ बढाएर साढे २५ सय बनाउने र चौडाइ ४५ मिटर बनाउने योजना छ । 

यसअघि पनि विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको थियो । विमानस्थलका अनुसार झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिएको थियो । दुवैतर्फ दुई/दुई मिटर धावनमार्ग फराकिलो बनाइएको थियो । 

यस्तै, तीनवटा जहाज पार्किङको व्यवस्था रहेकोमा थप दुई जहाज पार्किङ गर्नसक्ने गरी पार्किङ क्षेत्र विस्तार गरिएको थियो । धनगढी विमानस्थलबाट अहिले प्रदेशभित्रै आन्तरिक उडान पनि हुँदै आएको छ ।



प्रदेशको विमानस्थललाई थप स्तरोन्नति गर्न मन्त्रालयले डेढ अर्ब बजेट विनियोजन गरेको जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को ३९२ औं बैठकले बजेट विनियोजन गरेको हो । 

‘धनगढीमा क्षेत्रीय विमानस्थलको विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको छ,’ मन्त्री आलेले फरकधारसँग भने, ‘धनगढी विमानस्थलमै आवश्यक संरचना निर्माणका लागि थप १५ करोड बजेट पनि विनियोजन भएको छ ।’



नक्सा र जग्गा अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि धनगढी विमानस्थल स्तरोन्नतिको कार्य अगाडि बढ्ने मन्त्री आलेको दाबी छ । विमानस्थलमा क्यान्टिन निर्माण, गेट निर्माण, पार्किङ क्षेत्र, भिआइपी कोठा निर्माण र एक्सरे मेसिन थप्नका लागि पनि बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए । 

धनगढी विमानस्थलका लागि १ अर्ब १५ करोड बजेट विनियोजन भएकोमा अन्य विमानस्थलका लागि थप ३२ करोड १० लाख बजेट विनियोजन भएको हो । ‘डडेल्धुरामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि ५ करोड बजेट विनियोजन भएको छ,’ मन्त्री आलेले भने, ‘दिपायल विमानस्थलको स्तरोन्नतिका लागि १८ करोड र साँफे विमानस्थलको स्तरोन्नतिका लागि तीन करोड बजेट विनियोजन भएको छ ।’

उनका अनुसार कमलबजार विमानस्थल सुदृढीकरणका लागि तीन करोड, मझगाउँ विमानस्थलका लागि २ करोड ५१ लाख, पाटन विमानस्थलका लागि एक करोड ५० लाख, गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार र बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार बजेट विनियोजन भएको छ ।

रेखांकन गरेपछि स्थानीय आक्रोशित

धनगढी विमानस्थल वरिपरिको जग्गा रेखांकन गरिएपछि स्थानीय आक्रोशित भएका छन् । आफूहरूको जग्गा कब्जा गर्न खोजेको आरोप लगाउँदै स्थानीय आक्रोशित भएका हुन् । जग्गाको रेखांकन र पिल्लर गाड्ने कार्य कसले, किन गर्यो भन्ने कुराको पुष्टि भइसकेको छैन । 

आफूहरूलाई जानकारी नै नगराई जग्गाको रेखांकन र पिल्लर गाड्ने कार्य भएपछि जग्गाधनीले आन्दोलनसमेत गर्न थालेका छन् । विमानस्थल स्तरोन्नतिका लागि आफूहरूसँग समन्वय गरेर मात्रै जग्गा लिनुपर्ने उनीहरूको भनाइ छ ।  

धनगढी उपमहानगरपालिका–१३ का भोजराज शर्माले कुनै जानकारी नदिएर आफूहरूको जग्गामा पिल्लर गाड्नु अन्याय भएको बताए । उनले पिल्लर गाडिएपछि बैंकमा जग्गा राख्न समस्या भएको पनि बताए ।   

आफूहरूको जमिन विमानस्थलले पहिलेदेखि नै कब्जा गर्न खोज्दै आएको अर्की स्थानीय मञ्जु चौधरीले आरोप लगाइन् । कमाइ खाने र बस्ने आधार जमिन मात्रै भएको भन्दै उनले विमानस्थलले रेखांकन र पिल्लर हाल्ने कार्य गरेर आफूहरूको उठीबास गराउन खोजिरहेको पनि बताइन् । ‘हामीलाई नै नसोधेर हाम्रो जग्गामा पिल्लर गाडियो, कमाइ खाने र बस्ने एउटै जग्गा विमानस्थलको कार्यालयले लिएमा हामी कहाँ जाने?,’ चौधरीले प्रश्न गरिन् ।

यता नागरिक उड्डयन प्राधिकरण धनगढीले व्यक्तिको जग्गामा पिल्लर गाडिनुमा प्राधिकरणको कुनै भूमिका नरहेको जनाएको छ । विमानस्थलका निमित्त प्रमुख आनन्दराज भट्टले अहिले विमानस्थल विस्तारको कुनै योजना नरहेकाले यसमा आत्तिनुपर्ने कुरा नरहेको बताए । 

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ११:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया