अल्पकालीन आदेशले खेल क्षेत्रमा दीर्घकालीन असर गर्‍यो : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली खेलाडी सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभाको उद्घाटन गर्दै मन्त्री गहतराजले प्राकृतिक रूपमै उच्च मनोबल भएका नेपाली खेलाडीमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताएका हुन् । 

'हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनी छौं' सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको आफ्नै भवनमा आयोजित १२ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री गहतराजले भने, 'हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।'

एक फरक प्रशंगमा बोल्दै मन्त्री गहतराजले खेल क्षेत्रमा राजनीति गरिनु दुःखद भएको उल्लेख गरे । विगतदेखि नै खेलाडीलाई सत्ता निकटका व्यक्तिहरूले गलत रूपमा प्रयोग गर्दै आइरहेको जिकिर गर्दै मन्त्री गहतराजले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनीति मौलाएकाले अपेक्षित उपलब्धि हासिल हुन नसकेको दाबी गरे । 

यसैबीच राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दीर्घकालीन असर गरेको मन्त्री गहतराजले बताए  ।

'राखेपको सन्दर्भमा आदेश त अल्पकालीन थियो तर त्यसले खेलकुदमा दीर्घकालीन असर गरेको छ,' मन्त्री गहतराजले भने, 'खेलकुदमा दीर्घकालीन असर गर्ने काम अदालतबाट हुने छैन भन्नेमा विश्वस्त छु ।'

समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्दालाई प्राथमिकतामा राखेर हेरिनुपर्नेमा अदालतको ढिला सुस्तीका कारण खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था सृजना भएको भन्दै मन्त्री गहतराजले असन्तुष्टि जनाए ।



'यो रमेश सिलवालको विषय मात्र हैन, अथवा टंकलाल घिसिङको विषय मात्र हैन । यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो,' गहतराजले भने, 'अदालतको निर्णयमा ढिला सुस्ती भइरहेको छ ।'

उनले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षासमेत व्यक्त गरिन् ।



सरकारले राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सोही विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्दामाथि बहस भएन । उक्त मुद्दा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसमेतको सहभागिता रहेको थियो । 

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १५:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया