माधव नेपालको प्रश्न : स्मार्ट सिटीका नाममा निजगढ विमानस्थलको काम कसले रोक्यो ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य माधवकुमार नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्तबुझ्दो नरहेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा भएको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्तबुझ्दो नरहेको भन्दै यसको डिजाइनर, कम्पनी, इन्जिनियर र डिजाइन स्वीकार गर्ने पदाधिकारीको नामसमेत उपलब्ध गराउन आग्रह गरे । 

नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटिहरु हुने गरेको भन्दै सुधार्न प्रयास गर्नुपर्ने बताए । उनले निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनुपर्छ भनेको धेरै वर्ष भइसकेकोले अहिलेसम्म कसले बनाउन रोक्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए । 

सदस्य नेपालले भने, ‘भैरहवा विमानस्थलको टर्मिनल जुन बनेको छ, त्यो चित्तबुझ्दो छैन । यसको डिजाइनर को हो ? त्यसको नाम चाहियो । कम्पनी, इन्जिनियर ? त्यसलाई स्वीकार गर्ने पदाधिकारी को हुन् । त्यो नाम चाहियो । मन्त्री को थिए ? प्रधानमन्त्री को थिए ? त्यो पनि चाहियो ।’

बैठकमा समितिकी सदस्य पुष्पा भुसालले साधारण जनताहरुले पनि प्लेनमा चढ्न पाउनुपर्ने अवसरको महसुस भएकाले विमानस्थलहरुको काम सकेर सञ्चालनमा ल्याउनुपर्ने बताइन् । उनले लुम्बिनी विमानस्थलमा सञ्चालनको काम पर्यटन मन्त्रालयबाट नै केही कारण रोकिएको सूचना पाएकाले आफ्नो सरकार रहँदै सञ्चालन गर्नुपर्ने बताइन् । 

त्यस्तै, समितिका सदस्य मोहन बानियाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पुनः सर्वे डिजाइन र डिपिआर गर्ने भन्ने आएकोमा खेद प्रकट गरे । उनले करिब ९५ प्रतिशत काम भइसकेको अवस्थामा यस्तो कुरा गर्नु लापरबाही भएको बताए । 



सदस्य बानियाँले भने, ‘वास्तवमा यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा फेसिबेलिटी सर्भे, प्राइमरी सर्भे गर्दा र डिटेल सर्भे गर्दा हामीले ध्यान पुर्याउन सकेनौँ । अहिले महसुस भएको छ । ४० मिटर डाँडा काट्नुपर्छ, त्यसको पुनः सर्भे डिजाइन र डिपिआर गर्ने भन्ने कुरा आएको छ, करिब ९५ प्रतिशत काम भइसकेको छ, अब त्यसको प्रोजेक्टको अन्तिम समयमा आएर यो कुरा गर्नु लापरबाही नै हो ।’

बैठकमा समितिका सदस्यहरुले विमानस्थलको काममा ढिलाइ भइरहेको भन्दै यथाशीघ्र काम सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । 



  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १८:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया