नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रर्दशनीबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष खोजराज कटुवालले पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनीले नेपाली कृषिको र राष्ट्रिय कृषि उपकरण उत्पादनको वृद्धि र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदर्शनीमा नेपालमा उत्पादन भएका कृषिका नयाँ–नयाँ प्रविधि, औजार, कृषि उपकरण तथा पछिल्लो दुई वर्षमा आएका विश्वमा कृषिका लागि उत्पादन भएका यन्त्रहरु अवलोकन गर्न पाइने उनले बताए ।
अध्यक्ष कटुवालले मुलुक कृषिप्रधान मुलुक भए तापनि कृषि औजारहरु विदेशबाट आयात गर्नुपर्ने अवस्था कायम रहेको बताए । पछिल्लो समय नेपालमा १० अर्बभन्दा बढीको कृषि औजार आयात भइरहेको दाबी गर्दै उनले अब कृषि प्रविधिहरु नेपालमा नै उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष कटुवालले नेपालमा कृषि औजार उत्पादनको लागि नीतिगत समस्या रहेकाले सरकारबाट समाधान भएमा नै उत्पादन गर्न सहज हुने धारणा राखे ।
प्रदशनीले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायीकरण गर्न टेवा पुर्याउने तथा एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा संघको रहेको छ ।
प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेबाली, सिँचाइ, डेरी सञ्चालन मात्र नभई कृषिका नवीनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने तयारी गरेको संघले जनाएको छ ।
त्यस्तै, प्रदर्शनीमा कृषि प्रविधि, कृषि यान्त्रीकरण, विभिन्न रैथाने बाली, कृषिसम्बन्धी सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम, बाली बिमासम्बन्धी सुविधा, कृषिसम्बन्धी बीउ, विषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्री सुविधा, उन्नत विधि र प्रविधिको स्थलगत प्रदर्शनी हुनेछ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।