जनकपुरधामस्थित मिथिला टेक्निकल एकेडमी प्रालिले आर्थिक चलखेल गर्नका लागि जेहेनदार विद्यार्थीलाई नामांकनबाट वञ्चित गरेको आरोप लगाइएको छ ।
मिथिला टेक्नकल एकेडमीले हेल्थ एसिसटेन्टको खाली कोटामा कम अंक ल्याएका विद्यार्थीलाई नामांकन गरेको आरोप लगाइएको हो । जबकि बढी अंक ल्याएका विद्यार्थीहरु नामांकनका लागि निवेदन लिएर पटक–पटक धाउँदासमेत सुनुवाइ नभएको पीडित विद्यार्थीहरुको आरोप छ ।
मिथिला टेक्निकल एकेडमीले एचएमा विद्यार्थी भर्नाका लागि लिएको परीक्षामा १९ जना विद्यार्थीहरु नामांकन हुनेगरी उत्तीर्ण भएका थिए भने बाँकी १३ जना विद्यार्थीको नाम वैकल्पिक सूची निकालिएको थियो ।
तर, १९ जना मध्ये १५ जना विद्यार्थीले मात्रै नामांकन गराएको वैकल्पिक सूचीमा नाम रहेको जनकपुरधाम–१२ बस्ने विद्यार्थी चन्दनकुमार दासको दाबी छ ।
उनले १५ जनाले मात्रै नामांकन गराएपछि आफूहरुले वैकल्पिकमा राम्रो अंक ल्याएर उत्तीर्ण भएको आधारमा नामंकनका लागि पुगे पनि एकेडमी प्रशासनले कुनै सुनुवाइ नगरेको आरोप लगाए ।
दाससहित धनुषाको मिथिला नगरपालिका–८ कुसुमबिसौनाका अजयकुमार महतो, हंसपुर नगरालिका–५ सुगानिकास बस्ने नीरजकुमार मण्डललगायतका विद्यार्थी पटक–पटक एकेडमी धाउन थालेपछि ४ जना नामांकन गराउन चाहने इच्छुक विद्यार्थीलाई ७ दिन भित्र नामांकनका लागि निवेदन दिन सूचना प्रकाशन गरिएको थियो ।
सोही सूचनाको आधारमा निवेदन लिएर पुग्दा अब कोटा खाली नरहेको भन्दै आफूहरुलाई फर्काउने गरेको विद्यार्थी मण्डलले बताए ।
विद्यार्थीहरुले वैकल्पिक सूचीमध्ये सबैभन्दा कम अंक ल्याएका रिमा राम, कृष्णा सिंह, सचिनकुमार झालगायत विद्यार्थीलाई भर्ना गरिएको आरोप लगाएका छन् ।
यता, मिथिला मिथिला टेक्निकल एकेडमीका सञ्चालक गणेश साहले एकेडमीले ती विद्यार्थीहरुलाई समयमै नामांकन गराउन पटक–पटक ताकेता गर्दा पनि उनीहरुले समयमा नामंकनका लागि कुनै चासो नदिँदा उनीहरुको स्थानमा अन्य विद्यार्थाीको नामांकन गरिएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।