स्थानीय तहको निर्वाचन बैशाखमा गर्ने तयारी, सुरक्षाबाहेक नै १२ अर्ब खर्च

निर्वाचन आयोगले आगामी फागुनभित्र सबै तहको निर्वाचन गरिसक्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन भने बैशाखमा एकै चरणमा सम्भव नभए दुई चरणमा गर्ने तयारी आयाेगले थालेकाे छ । आयाेगले २०७९ बैशाख १४ गते र २२ गते निर्वाचन गर्ने तयारी थालेकाे हाे।

आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा पनि बैशाखमा स्थानीय तहको निर्वाचन गर्न आयोग तयार रहेको जानकारी गराएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

बजेट १२ अर्ब 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि करिब १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार अघिल्लो स्थानीय तहको चुनावमा १० अर्ब खर्च भएको थियो भने यो चुनावमा करिब २ अर्ब खर्च थपिने भएको छ ।

२०७४ मा भएको स्थानीय तहको चुनावमा मतदाता शिक्षा, मतपत्र छपाइलगायत बाहेक ९ अर्ब र सुरक्षामा १ अर्ब खर्च भएको आयोगले जनाएको छ । यो चोटिको स्थानीय तहको चुनावमा भने सुरक्षा बाहेककै खर्च १२ अर्ब पुग्न सक्ने आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

स्थानीय तहको चुनावको मिति अझै टुंगो नलगाइसकेकोले आयोगलाई थप चाहिन सक्ने सवारी साधन र कर्मचारीको बारेमा अहिले नै यकिन गर्न नसकेको उनले बताए।



‘अहिले हामी आन्तरिक तयारीमै छौं । अहिलेसम्म मिति तोकिसकेको छैन । हामीले आयोगको तर्फबाट प्रधानमन्त्रीसमक्ष आयोगको अवस्था र तयारीको बारेमा जानकारी गराएका छौं । मिति घोषणा भएपछि आवश्यक थप कुराहरू हामी सरकारसमक्ष जानकारी गराउँछौं’,उनले भने । 

अहिले आयोगले मतदाता नामावली संकलनमा बढी जोड दिएको छ । आयोगले स्थानीय तहलाई लक्षित गरेर मंसिर १७ गतेबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम गरिरहेको छ ।  यो कार्यक्रम पुस १९ गतेसम्म चल्ने छ । 



अहिलेसम्म थप करिब सवा सात लाख मतदाता थपिसकेका छन् । अभियान बाहेक पनि जिल्ला, प्रदेश कार्यालयहरूबाट मतदाता नामावली संकलन निरन्तर हुने आयोगले जनाएको छ ।

आयोग अहिले राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित भएको शर्माले जनाएका छन् । सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश कार्यालयहरूले काम थालिसकेका छन् । पुस १७ गतेबाट माघ १० गतेसम्म राष्ट्रिय सभाको निर्वाचन कार्यक्रम रहेको छ । 

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ११:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया