नक्कली नागरिकता र प्रमाणपत्र बनाएको आरोपमा एकजना पक्राउ, ५ जनामाथि अनुसन्धान

बझाङमा नक्कली सर्टिफिकेट र नागरिकता बनाएको भन्दै एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका १ का सतेशबहादुर सिंह रहेका छन् । सिंहको नागरिकता र सर्टिफिकेटमा एउटामा सतेशबहादुर सिंह र अर्कोमा प्रकाशबहादुर सिंह नाम राखेर फरक–फरक जन्म मिति राखी नागरिकता र सर्टिफिकेट नक्कली बनाएको खुलेको छ । 

सिंहले २०७० साल १२ महिना ११ गते बनाएको पहिलो नागरिकतामा सतेशबहादुर सिंह र जन्म मिति २०५३ साल ५ महिना ८ गते लेखिएको र २०७८ साल ७ महिना ११ गते बनाएको दोस्रो नागरिकतामा २०५६ साल ५ महिना ८ गतेको जन्ममिति र प्रकाशबहादुर सिंह लेखी २ वटा नागरिकता बनाएको पाइएको छ । 

सिंह २०७८ साल पुस १ गते जिल्ला प्रहरी कार्यालय बझाङमा प्रहरी जवानका लागि दरखास्त दिन आएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । दरखास्त दिन आएका सिंहको नागरिकता र सर्टिफिकेटमा नाम र जन्ममिति फरक परेपछि कीर्तेको  आशंका गरी अनुसन्धान गर्दा नागरिकता र सर्टिफिकेट नक्कली भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले बताए ।  

सिंहलाई जवानमा दरखास्त दिने दिन सर्टिफिकेट नमिलेको भन्दै फर्काउने कोसिस गरेपनि सिंहले उल्टै प्रहरी कर्मचारीलाई मैले २–३ पटक दिइसके तपाईंले मिलेन भनेर हुन्छ भनेर जबरजस्ती गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा विद्यालयमा गएर बुझ्दा नागरिकता २ वटा बनाएको र सर्टिफिकेट विध्यालयबाट दिएको हो भन्ने बुझ्नमा आएकाले उनी अध्यनरत विद्यालय नारायण मावि पिमी कैलाशका प्रधानाध्यापक ऐनबहादुर सिंह र सर्टिफिकेट कीर्तेको अनुसन्धानका लागि प्रतिभा डिजिटल फोटो स्टोडियोका सञ्चालक शिवराज शर्मालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको समेत प्रहरी स्रोतले जानकारी दिएको छ । 

नागरिकता कीर्तेमा जयपृथ्वी नगरपालिका १ कैलाशका वडा अध्यक्ष गगनबहादुर सिंह, वडा सचिव करनबहादुर कामी, प्राविधिक सहायक अजयबहादुर सिंहलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । नागरिकता बनाउनका लागि वडा कार्यालयबाट सिफारिस दिएका कारण उनीहरुमाथि अनुसन्धान सुरु गरिएको हो । 
 
अहिले सतेशविरुद्ध दुईवटा कीर्ते मुद्दा चलाइएको र उनीसँगै विद्यालयका प्रधानाध्यापक र फोटो स्टोडियोका सञ्चालकलाई सर्टिफिकेट कीर्ते गरेको आधारमा अनुसन्धान गरिरहेको छ, भने वडाध्यक्षलगायत कर्मचारीमाथि नागरिकताको विषयमा अनुसन्धान लागि थुनामा राखिएको छ । 



सिंहको दोस्रो नागरिकता २०७८ सालमा बनाउँदा आफू प्रमुख जिल्ला अधिकारी रहेको र आफू बाहिर हुँदा नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले हस्ताक्षर गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । ‘नागरिकता बनाउन आउँदा जन्मदर्ताबाहेक अरु ल्याएको थिएन,’ उनले भने, ‘जन्मदर्तामा भएको नाम र जन्ममितिका आधारमा हामीले नागरिकता दियौँ । नागरिकता बनिसकेपछि कक्षा ८ को सर्टिफिकेट बनाएको रहेछ ।’ 

नागरिकता बनाउन सिफारिस दिने र सर्टिफिकेट दिएको आधारमा वडाका र विद्यालयका कर्मचारीमाथि अनुसन्धान भए पनि नागरिकता बनाउन सनाखत गर्नेहरुको भने सोधिखोजी गरिएको छैन ।



  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १८:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया