डेल्टाजस्तो घातक छैन ओमिक्रोन तर सतर्क हुनैपर्छ

छिमेकी देश भारतमा पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्टको संक्रमण तीव्र हुँदै गएको छ । २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई भेरियन्ट अफ कन्सर्नमा राखेको थियो । यसो भन्नुको अर्थ यसको म्युटेसन तीव्र गतिमा फैलिन सक्ने भएको, यो घातक भएको, तीव्र गतिमा फैलिन सक्ने भएको, परीक्षण विधिमा नै समस्या ल्याउन सक्ने, औषधी वा खोपलाई चुनौती दिन सकिने भन्ने बुझिन्छ । 

यो भेरियन्टमाथि सबैले चासो दिनु पर्ने आवश्यकता देखिन्छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि थाहा पाउनु पर्ने देखिन्छ । कोरोनाभाइरसका यसअघिका भेरियन्ट अल्फा, बेटा, डेल्टा नाम दिइएको थियो । यी भेरियन्टले विभिन्न देशमा प्रभाव पारेको थियो । यी भेरियन्ट नेपालमा पनि देखिएका भेरियन्ट हुन् ।

तर, अहिले पनि कोरोनाको ओमिक्रोनबारे नयाँ नयाँ कुराहरु आउने क्रम जारी छ । पछिल्लो समय केही तथ्यांक आइरहेका छन् । जस्तो कि यसअघिको डेल्टा भेरियन्टभन्दा यसलाई कम घातक भनिएको छ । तर, यसो भन्नुको अर्थ यसको फैलिन सक्ने क्षमता बढी छ पनि भनिएको छ । 

दक्षिण अफ्रिका, बेलायत, अमेरिका, फ्रान्समा यो भेरियन्टले तीव्र गतिमा अघिल्ला भेरियन्टलाई प्रतिस्थापन गर्दै लगेको छ । हो, यो भेरियन्टका कारण पछिल्लो समय अस्पताल भर्ना हुने संख्या चाहिँ अलिक कम नै छ । 

पछिल्लो समय बेलायतमा भएको एक अध्ययनले ओमिक्रोन भेरियन्टका संक्रमितमा नाकबाट धेरै पानी बग्ने समस्या देखिएको छ । यसअघि हामीले सुनेको स्वाद हराउने, गन्ध हराउने कुरा चाहिँ यो भेरियन्टमा कम देखिएको बताइएको छ । 

अर्कोतिर, खोप लगाएका कारण यस्तो भएको त होइन भन्ने पनि भनिएको छ । 



कोरोनाबाट बच्नका लागि सबैभन्दा निर्विकल्प भनेको नै खोप हो । अहिले ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिँदा पनि खोपले धेरै प्रभाव पारेको देखिएको छ ।

स्पाइक जिनप्रति लक्षित खोपहरुका कारण पनि यसको प्रभावकारिता बढेको हुनसक्छ । त्यसैले यस्ता समस्या आउँदा खोपको प्रभावकारिताबारे पनि अध्ययन हुनथाल्छ । फाइजर कम्पनीले खोपलाई अद्यावधिक गर्ने भन्नेबारे काम गरेको पछिल्लो समय सुनिन पनि थालेको छ ।



ओमिक्रोनको अहिलेसम्म देखिएका लक्षणहरु अहिलेसम्म धेरै कडा नदेखिएको भए पनि हामीले यसको फैलिने वातावरणलाई कमजोर बनाउनु पर्छ । धेरै संक्रमित भएर अस्पताल भर्ना हुनु पर्ने अवस्था नआओस् भन्नका लागि संख्यात्मक रुपमा बढ्ने संक्रमितको संख्याबारे निकै ध्यान दिनु पर्ने हुन्छ । 

भारतमा पछिल्ला दिनमा सयौँको संख्यामा ओमिक्रोनका संक्रमित बढेका छन् । यसले हामीलाई सचेत बनाउनु पर्छ । भारतमा भएका नेपाली दाजुभाइले भारतमा लकडाउन वा अरु अवस्था आएर नेपाल फर्किएर आउँदा यो भाइरस पनि आउन सक्ने सम्भावना बढ्छ । त्यसैले अहिले नै हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्ने हुन्छ ।

पछिल्लो समय डेल्टाको अवस्था कमजोर भएको अवस्थामा धेरै मानिसहरु रिल्याक्स भएको अवस्थामा देखिन सकिन्छ । 

त्यसैले पछिल्लो समय के गर्ने भन्ने विषयमा सोच्नु पर्ने अवस्थामा हामी पुगेका छौँ । तर, बिर्सनु हुँदैन डेल्टाभन्दा बढी घातक छैन, ओमिक्रोन । 

हामीले विगतमा निकै धेरै दुखद अवस्था भोगेका छौँ । त्यसबाट अनुभव लिएर हामी अझ धेरै चनाखो बन्नु पर्छ । खोपको प्रभावकारिता र खोप लगाउने अभियानलाई थप प्रभावकारी रुपमा सरकारले अगाडि बढाउनुको विकल्प देखिँदैन । 

खोपको व्यवस्थापन र धेरैभन्दा धेरैलाई खोप लगाउन सकियो भने हामीलाई ओमिक्रोनले डेल्टाको जस्तो समस्या नल्याउला भन्ने मेरो प्रक्षेपण छ । खोप लगाएपछि संक्रमित भएपछि अस्पताल भर्ना हुने र मृत्यु हुने संख्या निकै कम गर्न सकिन्छ । 

खोप लगाएपछि पनि संक्रमण नहुने भन्ने होइन । फेरि ओमिक्रोनको विशेषता पनि यही छ । एकपटक कोरोना संक्रमण भइसकेकाहरुलार्ई पनि ओमिक्रोन संक्रमण देखिएको छ । तर, खोप लगाइसकेका व्यक्तिलाई चाहिँ यो भेरियन्टले ठूलो प्रभाव पारेको छैन । 

पछिल्लो समय खोप हुँदाहुँदै पनि हामी रोकिनु परेको अवस्था देखिएको छ । बुस्टर डोज लगाउन नसक्दा पनि लक्षित वर्गलाई चाहिँ खोप लगाउने कुरामा अब थप व्यवस्थापन हुनु पर्ने पनि देखिएको छ । कतिपयमा अहिले पनि खोपप्रति अविश्वास भएको देखिन्छ । त्यसैले यसबारे जनचेतनाका कार्यक्रमहरु अगाडि ल्याउनु पर्छ । युद्धस्तरमा खोपको प्रभावकारिताबारे हामीले जानकारी दिनु पर्ने हुन्छ ।

जाडो महिना सुरु भएको छ । त्यसैले रुघाखोकीका बिरामीहरुको संख्या बढ्दो छ । केही मानिसहरुले मलाई रुघाखोकी लागेपछि परीक्षण गर्दा कोरोना नेगेटिभ आउनु भएको बताउनु भएको छ । रुघाखोकीको लक्षण देखियो भने हामी धेरै आत्तिनु हुँदैन, चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । अनि चिकित्सकले त्यसबारे उचित परामर्श दिन पाउनु हुन्छ ।

डेल्टा भेरियन्टभन्दा ओमिक्रोनको लक्षणमा देखिएको फरकपन पनि यही हो । अहिले जाडो लागेका कारणले पछिल्लो समय केही मिल्दाजुल्दा लक्षण देखिएको हुनसक्छ । त्यसैले चिकित्सकको परामर्श लिनु पर्छ । 

कोरोनाभाइरसका नयाँ भेरियन्ट यसपछि अरु पनि आउन सक्छन् । तर, हामीले स्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प हुँदैन, स्वास्थ्यका मापदण्डलाई हामीले पालना गर्नुपर्छ ।

पछिल्लो समयमा देखिएको ओमिक्रोनका तीन जना संक्रमित नेपालमा पनि देखिएका छन् । यो यसैमा सिमित होला भन्न सकिँदैन । तुलनात्मक रुपमा छिटो फैलिने भएता पनि डराउने र आत्तिने होइन, विशेष सावधानी हामीले अपनाउन जरुरी छ । हामीले सतर्कता अपनाउनु पर्छ ।

जसरी एउटा ड्राइभरले गाडी चलाउँदा सतर्कता अपनाउँछ, त्यसरी नै हामी नडराई सतर्क हुन सिक्नु पर्छ । कोरोनाको दोस्रो लहरको जस्तो अवस्था नआओस् भन्ने हामी चाहने हो सतर्क हुनुको विकल्प छैन । 

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयाेजक हुन् ।)

भिडियो

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १९:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया