चीनमा उपचारसँगै वर्षमानले बढाए भेटघाट

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन (अनन्त) स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् । सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले बिहीबार ग्वान्झाओका महावाणिज्यदूतलगायतको टोलीसँग भेट गरेका हुन् । 

भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए । भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहनलगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइदिन माग गरेको थियो । 

नेता पुनको स्वास्थ्यलाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरूले तातोपानी तथा केरुङ नाकाबाट आयात/निर्यातको मात्रा बढाउनुपर्ने, नेपाल चीनबीचको उडान सुचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुनले यस विषयमा स्वदेश पुगेपछि सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागी पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्तीले जानकारी दिइन् । 

महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए । पुनसँग केही दिनअघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए ।

जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराइरहेका पुन बैंककमा निको नभएपछि चीन गएका हुन् । माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचाररत छन् । चिकित्सकको सल्लाहपछि उनी छिट्टै स्वदेश फर्कने पुनको सचिवालयले जनाएको छ । 



जण्डिस दोहोरिएपछि उनी १३ असोजमा बैंकक गएका थिए । पुनको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ६:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया