सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारबाट सातौं चरणका खेल सुरु हुँदैछन् । सातौं चरणअन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई खेल हुन लागेका हुन् ।
दिउँसो १ बजे सुरु हुने विभागीय डर्बीमा एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको एपिएफ आर्मीलाई हराउँदै अंक तालिका सुधार गर्न चाहन्छ ।
लिगमा अपराजित रहेको आर्मी पनि आज जित हात पार्दै उपाधि होडमा कायम रहने सोचमा हुनेछ । ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा रहेको आर्मी एपिएफलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लने छ।
आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । यो खेल साँझ पौने पाँच बजे सुरु हुनेछ ।
६ खेलमा ३ अंक जोडेर पुछारमा रहेको फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टिम हो । एनआरटीलाई हराएर फ्रेन्ड्स आज पहिलो जित निकाल्ने प्रयासमा हुनेछ ।
६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको एनआरटी फ्रेन्ड्सलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।