नेपालमा पछिल्लो डेढ वर्षको अवधिमा विभिन्न देशबाट २९ हजार ५१० वटा मेडिकल भेन्टिलेटर भित्रिएको छ । भित्रिएका मेडिकल भेन्टिलेटरमध्ये केही खरिद गरी ल्याइएको हो भने केही दाताले निःशुल्क उपलब्ध गरेका हुन् ।
नेपालले मेडिकल भेन्टिलेटर खरिदमा पछिल्लो डेढ वर्षको अवधिमा १ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँ खर्चेको छ । २०७७ साउनदेखि २०७८ मंसिर मसान्तसम्मको अवधिमा ती मेडिकल भेन्टिलेटर नेपाल भित्रिएका हुन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि अस्पतालमा भेन्टिलेटरको अभाव भएको थियो । भेन्टिलेटर अभाव हुँदा केही संक्रमितको मृत्युसमेत भएको थियो ।
नेपालमा भेन्टिलेटर अभाव भएको समाचार प्रकाशित भएपछि केही दातृ राष्ट्र तथा निकायले नेपाललाई निःशुल्क भेन्टिलेटर उपलब्ध गराएका थिए भने नेपाल आफैँले पनि विभिन्न देशबाट भेन्टिलेटर खरिद गरी ल्याएको थियो ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा मात्र नेपालमा बिभिन्न देशबाट ३ हजार ३७२ थान मेडिकल भेन्टिलेटर भित्रिएका छन् । सो अवधिमा भेन्टिलेटर खरिदमा नेपालले ७० करोड ३२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको भन्सारको तथ्याङ्कले देखाउँछ । सो अवधिमा भेन्टिलेटर खरिद गर्न नेपालले ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँ खर्च गरेको थियो ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सबैभन्दा बढी मेडिकल भेन्टिलेटर चीनबाट नेपाल भित्रिएको छ । विभागका अनुसार सो अवधिमा चीनबाट ८ करोड ६८ लाख ६८ हजार रुपैयाँमा २ हजार ८८२ थान भेन्टिलेटर नेपाल भित्रिएको हो ।
यस्तै, सोही अवधिमा मलेसियाबाट ३८ करोड ९७ लाख ९१ हजार रुपैयाँमा २७२ थान, भारतबाट २६ लाख ४० हजार रुपैयाँमा ५८ थान, जर्मनीबाट ६ करोड १६ लाख ९४ हजार रुपैयाँमा १८ थान, आयरल्याण्डबाट १ करोड ४२ लाख ३६ हजार रुपैयाँमा १० थान, स्वीट्जरल्याण्डबाट ६ करोड ९९ लाख ३० हजार रुपैयाँमा ५७ थान र अमेरिकाबाट ६ करोड ७८ लाख १ हजार रुपैयाँमा ६० थान भेन्टिलेटर नेपाल भित्रिएको छ ।
चालू आर्थिक वर्षको सुरुवाती पाँच महिनामा अर्जेन्टीनाबाट १, इटालीबाट २, कुवेतबाट ४, लिथुवानियाबाट ५, रुसबाट २ र बेलायतबाट १ थान मेडिकल भेन्टिलेटर नेपाल आएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा भने नेपालमा सबैभन्दा बढी मेडिकल भेन्टिलेटर डेनमार्कबाट भित्रिएको थियो । उक्त वर्ष डेनमार्कबाट २५ हजार २६ थान मेडिकल भेन्टिलेटर नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ ।
सोही आर्थिक वर्ष चीनबाट १८९, जर्मनीबाट ८२, भारतबाट ११, आयरल्याण्डबाट ४४, इजरायलबाट ५८, इटालीबाट २०, मलेसियाबाट ८२, स्वीट्जरल्याण्डबाट ८०, युनाइटेड अरब इमिरेट्सबाट ३४० र अमेरिकाबाट २०६ थान मेडिकल भेन्टिलेटर नेपालमा अनुदान सहयोग तथा खरिद गरि ल्याइएको छ ।
भन्सार विभागको तथ्याङ्कमा आर्थिक वर्ष २०७६/७७ मा भने नेपालमा एउटा पनि मेडिकल भेन्टिलेटर भित्रिएको देखिँदैन । कोरोना महामारी र संक्रमण बेढेपछि अस्पतालमा संक्रमितको चाप बढेको थियो ।
कोरोरा विश्वमा पहिलोपटक सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो भाइरस विश्वभरी फैलिएको छ । कोरोना संक्रमणका कारण नेपाल पनि लामो समय लकडाउनमा रहेको थियो । फेरि पछिल्लोपटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरिन्टले पनि विश्वभरी त्रास फैलाएको छ । नेपालमा पनि यो भेरियन्ट देखा परेको पुष्टि भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।