प्रधानमन्त्री देउवा र बागमतीका मुख्यमन्त्री पाण्डेबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र पाण्डेबीचको छलफलमा प्रदेश सरकार सञ्चालन तथा बागमती प्रदेशका विविध विषयमा कुराकानी भएको हो ।

छलफलमा मुख्यमन्त्री पाण्डेले संविधानले प्रदेश सरकारको एकल अधिकार सूचीमा राखिएका विषयसँग सम्बन्धित कार्यालय एवं निकायलाई तत्काल आवश्यक ऐन, नियम तर्जुमा एवं संशोधन गर्दै प्रदेश सरकार मातहत ल्याउन सकेमा मात्र प्रदेशवासीले प्रदेश सरकार आफू नजिक आएको महशुस गर्न सक्ने भएकोले यसतर्फ संघीय सरकारले पहल गर्नका लागि  अनुरोध गरेका थिए ।

साथै,  मुख्यमन्त्री पाण्डेले मंसिर २६ देखि २८ गतेसम्म बसेको अन्तर प्रदेश समन्वय बैठकबाट पारित निर्णयहरूलाई कार्यान्वयन तहमा लैजानको लागि समेत अनुरोध गरेका थिए । सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने गरी सञ्चालन गर्नुपर्ने प्रदेश समन्वय परिषद्को बैठकलाई यथाशक्य चाँडो आयोजना गर्न र यसलाई आवधिक रूपमा नियमित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको कुरामा पनि उनले जोड दिएका थिए ।  

करिब ४५ मिनेट भएको छलफलमा मुख्यमन्त्री पाण्डेले सरकारले भर्खरै ल्याएको प्रदेश प्रहरी समायोजन सम्बन्धी कानुन बमोजिम प्रदेश प्रहरी समायोजन कार्यलाई जनताले महशुस गर्ने गरी समायोजन प्रक्रिया टुंग्याउनको लागि मातहतका निकायहरूलाई निर्देशन दिनका लागि पनि अनुरोध गरेका थिए ।  

उनले बागमती प्रदेशभित्र व्यवस्थित ढंगबाट सञ्चालन हुन नसकेका बालाजु, भक्तपुर, पाटन र हेटौंडा औद्योगिक क्षेत्र प्रदेशलाई हस्तान्तरण गर्नका लागि प्रक्रिया टुङ्ग्याइ दिनसमेत आग्रह गरेक थिए । मुख्यमन्त्रीको कुरा सुनेपछि प्रधानमन्त्री देउवाले राजनीतिक तथा प्रशासनिक तहमा थप छलफल गरी कार्यान्वयन तहमा अघि बढाउने आश्वासन दिएका थिए ।  





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ११:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया